काठमाडौं । विगत निकै लामो समयदेखि सुस्त अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउने अपेक्षा गर्दागर्दै फेरि अर्को चुनौती थपिनथालको छ । त्यो हो रेमिट्यान्सको वृद्धिदर घट्न थाल्नु । केहीअघि मात्रै प्रधानमन्त्रीले अर्थतन्त्रमा सुधार आएको भनेर आफ्नो दलको आन्तरिक बैठकमा प्रतिवेदन नै बुझाएका थिए । त्यसमा पनि उनको भनाइ गति लिनचाहिँ नसकेको भन्ने नै थियो । यो सरकारले छ महिना पूरा गरेको छ । सरकार गठन हुना साथ यसको पहिलो कबोल नै आन्तरिक अर्थतन्त्रमा सुधार भन्ने थियो । यसको अर्थ हो बाह्य क्षेत्र सकारात्मक रहनु, थियो पनि त्यस्तै । झण्डै दुई वर्षका लागि पुग्नेगरी विदेशी विनिमय मुद्राको सञ्चिति आफैँमा धेरै सकारात्मक कुरा हो नै । त्यस कारण पनि सरकारको पूराका पूरा ध्यान अर्थको आन्तरिक पक्ष सुधारको थियो । जसमा खर्च र आम्दानीमा सन्तुलन ल्याउनु र व्यापारघाटा घटाउनु । यी दुवै कुरा हुन सकेका थिएनन् । त्यसकारण सरकारको यो छ महिनामा बाह्य क्षेत्र बलियो भए पनि आन्तरिक क्षेत्र चुनौतीपूर्ण रहेको भनिएको हुनुपर्छ ।
पछिल्लो समय थपिएको चुनौती हो रेमिट्यान्स वृद्धिदरमा घट्दो अवस्था । यसले धेरै नराम्रो संकेत गर्छ । एकातिर वैदेशिक रोजागारीमा जानेहरूको संख्या बढ्दै जानु र अर्कातिर उनले पठाउने रेमिट्यान्सको वृद्धिदर अरू वर्षको वा महिनाको भन्दा घट्दै जानेक्रम बढ्दै गएको देखिनु सामान्य अवस्था होइन । यसले अनौपचारिक अर्थतन्त्र बढेको संकेत गर्छ जो खतरनाक हुन सक्छ । त्यसै पनि अर्थतन्त्रका बाह्य सूचक धेरै बलियो देखिँदा पनि आन्तरिकरूपमा सुधार नआउनु र राजस्व, पुँजीगत खर्च र कर्जा विस्तारमा विगतको भन्दा झन्झन् मन्दी आउनु आफैँमा चिन्ताको विषय हो । त्यसमाथि रेमिट्यान्सको वृद्धिदरमा घट्दोरूप देखिन थाल्नु निश्चय नै सामान्य कुरा होइन । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार बितेका केही महिनादेखि महिनामा देशहरूमा आउने रेमिट्यान्सको वृद्धिदर निरन्तर ओरालोमा छ । सामान्यतया अरू कुनै कैफियत नभएको अवस्थामा यस्तो नहुनुपर्ने हो । गएको कात्तिकमा एक खर्ब १४ अर्ब ३० करोड र मंसिरमा एक खर्ब १८ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकोमा त्यसअघिको महिना असोजको तुलनामा घटेको देखिएको हो । बैंकको मासिक प्रतिवेदनअनुसार कात्तिकमा ३० अर्ब र मंसिरमा २६ अर्ब रुपैयाँ कम रेमिट्यान्स आएको छ ।
गएको असोजमा आएको रेमिट्यान्सको अंक एक खर्ब ४४ अर्ब २० करोड थियो । वैदेशिक रोजगारीका लागि नेपालीहरू जहाँ गएका छन् त्यो ठाउँ अर्थात् देशमा कुनै त्यस्तो भैपरी आइपरेको छैन । रोजगारीका लागि मुख्य गन्तव्य राष्ट्र भनेका खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरिया, अमेरिका, जापान, अस्ट्रेलिया आदि नै हुन् । यी देशमा जाने नेपालीको बढिरहेकै छ । यस्तोबेला यता रेमिट्यान्सको वृद्धिदरमा कमी आउनु भनेको कतै न कतै केही न केही कैफियत छ भन्ने नै बुझ्नुपर्छ । विज्ञहरूका अनुसार गैरकानुनी कारोबार बढेको संकेत पनि हुनुपर्छ । कतिपय तस्करी भएर आउने वस्तुमा रेमिट्यान्सको पैसा प्रयोग त भइरहेको छैन ? यो प्रश्न गम्भीर छ । यसलाई बेलैमा एउटा निष्कर्षमा पुर्याउन सकिएन भने स्थिति भयावह पनि हुन सक्छ । जुन दरले प्रत्येक पछिल्ला महिना रेमिट्यान्सको वृद्धिदर कायम हुनुपर्ने हो त्यसको आकार उल्टो हुनेगरी घटेको छ । जस्तो असोजको तुलनामा कात्तिकमा ३० अर्ब र मंसिरमा २६ अर्ब रुपैयाँ कम रेमिट्यान्स आएको छ । यो हिसाब कायम रह्यो भने घट्ने क्रममा वर्षमा दुई तीन खर्ब पुग्न सक्छ । सरकार होसियार बनोस् ।