काठमाडौँ । भारतको नयाँ दिल्लीमा नेपालको अटोमोबाइल्स क्षेत्रको विकासका लागि त्रिपक्षीय सम्झौता भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा), अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफयाक्चर्स एसोसिएसन (एसीएमए)बीच चार बुंँदे सम्झौता भएको हो ।
सम्झौतामा नाडाका अध्यक्ष करण चौधरी, एएसडीसीका प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसीएमएका महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन् । सम्झौतामा तीन संस्थाबीच सहकार्यात्मक साझेदारीको खाका तय गरेको गरिएको छ । यसले नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरसीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल्याङ्कनकर्ताहरू र नाडा व्यवसायीलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्नेछ । यस्तै, नेपालको अटोमोटिभ क्षेत्रको मागहरू पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न सीप विकासका तालिमकर्ताहरू र मूल्याङ्कनकर्ताहरूको विकास गरिने छ भने भारतको अटोमोटिभ क्षेत्रको लागि सीप विकास परिषद्को रूपमा पाठ्यक्रम विकास, तालिम डेलिबरी र मूल्याङ्कन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्याउने कार्य गर्नेछन् ।
यो ऐतिहासिक त्रिपक्षीय सझौता नेपाल र भारतबीचमा खासगरी नेपालको अटोमोबाइल क्षेत्रको सीप विकासको लागि कोशेढुङ्गा सावित हुने नाडाले जनाएको छ । भारतको नयाँ दिल्लीमा जारी भारत मोबिलिटीअन्तर्गत अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।