इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा चङ्गा उडाउन प्रतिबन्ध लगाइएको छ । समाचार एजेन्सी एपीका अनुसार पञ्जाब विधानसभाले पनि यस सम्बन्धमा एउटा विधेयक पारित गरेको छ । चङ्गा उडाउँदै गरेको पाइएमा तीनदेखि पाँच वर्षसम्म कैद वा २० लाख पाकिस्तानी रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्छ । जरिबाना तिर्न असफल भएमा एक वर्ष थप जेल सजाय हुनेछ ।
विधेयकमा चङ्गा बनाउने र बेच्नेलाई कडा कारबाही गर्ने घोषणा पनि गरिएको छ । उनीहरुलाई पाँचदेखि सात वर्षसम्म कैद वा ५० लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्छ । जरिबाना तिर्न नसकेमा थप दुई वर्ष जेल सजाय हुनेछ ।
यस कानुनमा नाबालकलाई सजायको छुट्टै व्यवस्था छ । नाबालिगलाई पहिलो कसुरमा ५० हजार र दोस्रो कसुरमा एक लाख रुपैयाँ जरिबाना हुनेछ । यदि तेस्रो पटक कसुर गरेमा, २०१८ को बाल न्याय ऐनअन्तर्गत सजाय दिइनेछ ।
यो प्रतिबन्ध लाहोरबाहेक अन्य सहरमा पन लागू गरिएको छ । चङ्गा उडाउने क्रममा धारिलो ब्लेडको प्रयोग हुने भएकाले घातक दुर्घटना हुने विधेयकमा उल्लेख छ । गतवर्ष मार्चमा फैसलाबादमा एक मोटरसाइकल चालकको चङ्गाको तारले घाँटी काटेर मृत्यु भएको थियो । त्यसपछि पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले चङ्गा उडाउने कार्यमा प्रतिबन्ध लगाइनुपर्ने बताएकी थिइन् ।