काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् ।
उनले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताएको हो । नेपालको धर्मराएको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले सरकारले उद्योग तथा वाणिज्य र निर्यातका क्षेत्रमा बाधक देखिएका कानुनमा सुधारका काम धमाधम अगाडि बढाइसकेको बताए ।
छिट्टै वाणिज्य नीतिको समयसापेक्ष सुधारका लागि आगामी संसद्मा पेश गरिने जानकारी दिँदै उनले साना तथा लघुउद्यमीलाई प्रोत्साहित गर्न नीतिगत व्यवस्थाका साथै एउटा छुट्टै कोषको व्यवस्था सरकारले गरिरहेको बताए ।
मन्त्री भण्डारीले भने, “नेपालको व्यापार र निर्यात कसरी वृद्धि गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर छ, आर्थिक वृद्धि हासिल गर्न नेपाली वस्तुको बजार विस्तारको रणनीति अपनाउनु जरुरी छ, नेपाली वस्तुको प्रयोग गर्ने कुरालाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउनु पनि जरुरी छ ।” उनले नेपालको पूँजी बजार र अर्थतन्त्रमा आएको निराशा चिर्न तथा व्यावसायिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको समेत स्पष्ट पारे ।