काठमाडौं । अहिले देशको अर्थतन्त्र खस्किँदै गएको अवस्था छ र सेयरबजारको अवस्था पनि राम्रो देखिँदैन । तर अर्थतन्त्रमा केही सुधार हुनासाथ सेयरबजारले स्वाभाविकरूपमा आफ्नो बाटो लिएको हुन्छ । अर्को कुरा देशको अर्थतन्त्र र सरकारको संरचना तथा अवस्थाले पनि असर पारेको हुन्छ । पटकपटक सरकार परिवर्तन हुँदा अर्थतन्त्र प्रभावकारी हुन सक्दैन । एउटा नीति लागु हुन नपाउँदै अर्को नीति जारी हुने अवस्थाले नीतिहरू दिगो र स्थायी हुन सक्दैनन् । यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा परेको कारणले गर्दा सेयरबजारले उपयुक्त बाटो लिन सक्दैन ।
सेयरबजारको स्वभाव हामीले बुझ्न नसकेको कारणले गर्दा लौलौ सेयर बजार बढ्यो वा घट्यो भन्दछौँ । तर किन र के कारणले बजार तलमाथि भयो भन्ने बारेमा हाम्रो बुझाइमा कमी आएको हो । सेयरबजार आफैँ बढ्ने र घट्ने होइन । यसलाई धक्का दिने विभिन्न पक्ष हुन सक्छन् । ती पक्षहरूमा हामीहरूको ध्यान जान नसकेको हुनाले नै लगानीकर्ता जोखिममा पर्ने हो । सेयर खेल्ने भनेको जुवातास खेल्नेजस्तो पनि होइन । यो त अनुमानभन्दा पनि बुद्धि र विवेकको खेल हो । किनभने कुने कारोबारबाट फाइदा लिने काम त्यति सजिलो हुँदैन । महिना बिताएर कर्मचारीले पारिश्रमिक थापेजस्तो पनि होइन । विवेक पुर्याउन सकिएन भने जोखिममा पर्न सक्ने सम्भावना त्यतिकै प्रबल हुन्छ । भनिन्छ, सेयरबजारमा बुद्धि पु¥याउन सकियो भने कहिल्यै नहारिने खेल हो ।
कुनै मानिस बिरामी भयो भने त्यसको कारण पत्ता लगाएर सोहीअनुसार उपचार गर्न सकियो भने बिरामी छोटो समयमा नै निको हुन सक्छ । जथाभावी औषधि सेवन गरियो भने बिरामी जोखिममा पनि पर्न सक्दछ । सेयरबजार बारेको सन्दर्भमा केही जानकारी नलिइकन लगानी गर्दा त जोखिममा पर्नु कुनै नौलो कुरो पनि होइन । सेयरसम्बन्धी शिक्षा र जानकारी लिनु सेयरबजारको आधारभूत कुरा नै हो ।
अहिले सेयरबजार बिरामी मात्र भएको हो । असक्त भएर उठ्नै नसक्ने गरी थला परेको भने होइन । जतिसक्यो चाँडो उपचार गर्न सकियो भने सेयरबजार तङ्ग्रिन सक्छ । त्यसपछि यसले आफ्नो गति लिइहाल्छ । सधैँ सरकार र अर्थतन्त्र कमजोर भई रहन्छन् भन्न सकिँदैन । कुनै निश्चित अवधिपछि सुधार हुनैपर्छ । अन्यथा मुलुक नै संकटमा पर्ने सम्भावना हुन सक्छ । सरकार, आर्थिक नीति र अर्थतन्त्रमा केही सुधार आउना साथ सेयरबजारले आफ्नो गति लिई हाल्छ । यस अवस्थामा बजार आफैँ चलायमान हुन्छ र अन्य पक्षहरूले कुनै प्रतिकुल असर पार्न पनि सक्दैनन् । अहिले सरकार र आर्थिक नीतिमा कुनै सुधारात्मक परिवर्तन नआएको हुनाले नै सेयरबजार खस्किँदै गएको अवस्था हो ।
सेयरबजारमा मुख्य भूमिका हुने भनेको नै सार्वभौम लगानीकर्ता नै हुन् । यो कुरा अहिले लगानीकर्तामा अभाव देखिन्छ । लगानीकर्ता विवेकशील हुने हो भने सेयरबजारबाट जोखिम हुने कुनै अवस्था नै आउँदैन । जोखिम निम्त्याउने त हामी लगानीकर्ता आफैँ हौ । जथाभावी खरिद गर्दाको अवस्थाले निम्त्याएको अहिलेको सेयरबजारको स्थिति हो । अन्यथा जोखिमबाट बच्न सकिने हुन्छ । जोखिम लगानीकर्ता आफैँले निम्त्याउने हो सेयरबजारले थुपार्ने होइन । माग र आपूर्तिको सिद्धान्तबमोजिम बजार चलायमान भइहाल्छ ।
कम्पनीको अवस्था अध्ययन नगरी कसैले लगानी गर्छ भने त्यहाँ जोखिमको सम्भावना हुन सक्छ । राम्रो कम्पनीमा लगानी गर्न सकियो भने डराउनुपर्दैन । छोटो अवधिमा विभिन्न कारणले गर्दा लाभ लिन नसकिए पनि कुनै न कुनै समयमा राम्रै प्रतिफल प्राप्त गर्न सकिन्छ । किनभने कम्पनीको अवस्थामा कुनै नकारात्मक परिवर्तन आएको हुँदैन ।
कमजोर कम्पनीहरूको सेयरमूल्य सामान्यतया कम नै हुन्छ । यस्ता कम्पनीमा सुधार आउन समय लाग्ने नै हुन्छ । लगानीकर्ता भने राम्रो र छिटो प्रतिफलको आशामा रहेका हुन्छन् । निश्चय नै यस्ता कम्पनीको धेरै कारोवार हुँदा भने सेयरबजारलाई असर पारेको हुन्छ । राम्रो कम्पनीका सेयरमा लगानी गर्दा जोखिमभार ज्यादै न्यून हुन्छ । अर्थात् हुँदैहुँदैन भने पनि हुन्छ । साना लगानीकर्ताको यस्ता सेयरप्रति त्यति ध्यान गएको हुँदैन । एक त लगानीको लागि रकमको कमी हुन सक्छ भने अर्कोतर्फ तुरुन्त राम्रो फाइदा लिन सकिन्छ भन्न पनि सकिँदैन । त्यसकारण छोटो समयमा लाभ लिन सक्ने सम्भावनाहरूलाई ख्याल गरेर लगानी गर्नु उपयुक्त हुनेछ ।
सेयरबजारको सीमा सीमित हुन्छ भन्ने सामान्य लगानीकर्ताको बुझाइ भएको पाइन्छ । तर त्यसो होइन । किनभने देशको राष्ट्रिय अर्थतन्त्र र वित्तीय क्षेत्रको अवस्थाले सेयरबजारमा प्रभाव पारेकै हुन्छ । अहिले अर्थतन्त्र सिथिल अवस्थामा छ र आर्थिक नीतिहरू पनि दिगो हुन सकेका छैनन् । सरकारले तत्काल समस्याको समाधानको लागि कहिले खकुलो र कहिले कसिलो नीति लागु गर्दा सेयरबजार फस्टाउन नसकेको हो । सेयरबजारलाई जहिले पनि सरकारको वित्त नीति र नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिले प्रभाव पारेको हुन्छ । अतः सेयरबजारको क्षेत्र विस्तृत हुने भएकाले यसलाई विभिन्न कोणबाट हेरिनुपर्छ ।
अर्थतन्त्रको कुरा गर्ने हो भने कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब पुगेको छ । यसको सावाँ व्याज भुक्तानीमा समेत यही ऋण प्रयोग गर्नुपरेको छ र उत्पादनशील क्षेत्रमा लगानी प्रवाह गर्न सकिएको छैन । कुल गार्हस्थ उत्पादनको ४४ दशमलव ४६ सार्वजनिक ऋण पुगेको छ भने प्रतिव्यक्ति ऋणभार ८६ हजार छ । झट्ट हेर्दा सार्वजनिक ऋण बढी देखिएकोजस्तो भए पनि अन्तराष्ट्रिय मान्यताअनुसार बढी होइन । कुल गार्हस्थ उत्पादनको ५० प्रतिशतसम्म ऋण हुनुलाई सीमाभित्रको मानिन्छ । त्यसकारण ऋण बढी भयो भनेर पुँजीबजारलाई असर गर्छ भन्न सकिने अवस्था सिर्जना भएको छैन ।
अर्कोतर्फ पुँजीगत खर्च ज्यादै निराशाजनक छ । चालुगत खर्च भने ज्यामितीयरूपले वृद्धि हुँदै गएको छ । पुँजीगत खर्च बढेको अवस्थामा मात्र लगानीकर्ताको हातमा पैसा प्रवाह हुने हो र सेयरबजार फस्टाउने हो । सेयरबजारमा सुधार आउन नसक्नु पुँजीको अभावलाई पनि लिन सकिन्छ । सार्वजनिक निर्माण कार्यको रकम भुक्तानी सरकारले गरिदिने हो भने बजारमा तरलताको प्रवाह हुन जान्छ जसको सकारात्मक प्रभाव सेयरबजारमा पर्ने हुन्छ ।
अहिले बैंकिङ क्षेत्रमा सात खर्बभन्दा बढी लगानीयोग्य तरलता जम्मा भएको छ र कर्जा प्रवाह हुन सकेको छैन । बजारमा माग सिर्जना नभएको हुनाले औद्योगिक संगठन तथा कम्पनीहरूले घट्दै गएको न्यून एकल अंकको व्याजदरमा पनि कर्जा लिन चाहेका छैनन् । यसले गर्दा पनि सेयरबजारले गतिलिन नसकेको अवस्था हो । वैदेशिक रोजगारीमा जानेहरूले पठाएको विप्रेषणको रकम करिब २३ खर्बको हाराहारीमा छ । यो रकमलाई उद्योग तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिएको भने स्वाभाविकरूपमा सेयरबजार फस्टाउन सक्छ ।
सेयरबजारको आफ्नै संरचनाभित्र पनि विभिन्न कमीकमजोरी देखिएका छन् । भनिन्छ, इन्साइडर ट्रेडिङ, विचौलिया एवं माफियाहरूको ठूलो चलखेलबाट साधारण लगानीकर्ताले धेरै जोखिम व्यहोर्नुपरेको छ । यसमा नियन्त्रण गर्न नियामक निकायहरूले अनुगमन गर्नुपर्छ ।
संक्षेपमा भन्नुपर्दा सेयरबजारलाई प्रभाव पार्ने मूलतः सरकारको नीति, कम्पनीको अवस्था, सरोकारवालाहरूको भूमिका, नियमन निकायहरूको सक्रियता र स्वयं लगानीकर्ताको विवेकशीलता हुन् । यी पक्षहरूको राम्रो संयोजन र समन्वय हुन सक्यो भने निश्चय नै सेयरबजारले गतिलिन सक्ने हुन्छ र राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्न सक्छ ।