काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागतरूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।
उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए पनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताएका छन् ।
राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, कम्पनी रजिस्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताए ।
बैठकमा अर्थतन्त्र, बैंक, सहकारी, तरलता, कर्जा, बीमा, अनुदान, पुँजी बजारलगायतका विषयमा छलफल भएको थियो । त्यस अवसरमा अर्थतन्त्रका मुद्दाहरूमा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिँदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एक अर्को निकायबीच समन्वय बढाउनेबारे पनि छलफल भएको थियो ।