दोलखा । जिल्लामा कोल्डस्टोर नभएपछि दोलखाका किबी उत्पादक किसानहरू राजधानीमा महँगो शुल्क तिरेर स्टोर गर्न बाध्य भएका छन् । यहाँका किसानहरू राजधानीमा प्रतिकेजी पाँच रुपैयाँ तिरेर किबी स्टोर गर्न बाध्य भएका छन् ।
असोजदेखि बजारमा किबी आउन थाले पनि मुख्यतया मंसिरपछि किबीको माग र उत्पादन धेरै हुने गरेको छ । पछिल्लो समय दोलखाका दर्जनौँ किसानले व्यावसायिकरूपमा नै किबी खेती गर्दै आएका छन् । जिल्लामा एउटै किसानले एक हजारदेखि दशौँ हजार केजीसम्म किबी फलाउन थालेका छन् । जिल्लाको शैलुङ गाउँपालिका–३ का किसान हरि कार्कीले यस वर्ष सात हजार केजी किबी उत्पादन गरेको सुनाए । उनले उत्पादन गरेको किबी प्रायः सबै काठमाडौं लगेर स्टोर गरी बिक्री गर्ने गरेको बताए ।
जिल्लामै लाखौं खर्चेर निर्माण गरिएको शैलुङको कोल्डस्टोर प्रयोगविहीन बन्दा केजीमै पाँच रुपैयाँ शुल्क तिरेर पाँच हजार केजी किबी काठमाडौंको लगनखेल महालक्ष्मी स्थानको कोल्डस्टोरमा राखेर बिक्री गर्न बाध्य भएको उनले सुनाए । कार्कीले गत वर्ष पनि काठमाडौंकै विभिन्न स्थानका चिस्यान केन्द्रमा किबी राखेका थिए । केही वर्षअघि नै निर्माण सम्पन्न भएको जिल्लाकै ठूलो तीन सय मेट्रिक टन क्षमताको शैलुङ शितभण्डार हालसम्म सञ्चालनमा आउन सकेको छैन । सो शितभण्डार सञ्चालनका लागि स्थानीय सरकार तथा सरोकारवालाले चासो नदिँदा वर्षौँनि हजारौँ रुपैयाँ काठमाडौंका शितभण्डारलाई बुझाउनुपरेको कार्कीले बताए ।
शैलुङमा कार्कीजस्तै लाखौँको किबी तथा आलु उत्पादन गर्ने किसान छन् । तर करिब सात करोड खर्चेर निर्माण गरिएको शितभण्डार प्रयोगविहीन छ । पटकपटक उक्त शितभण्डारलाई प्रयोगमा ल्याउन स्थानीय सरकारलाई भने पनि कुनै सुनाइ नभएको उनले गुनासो गरे । कार्कीले दुई हेक्टर जमिनमा सात सय बोट किबी लगाएका छन् । उनले वार्षिक २० लाख रुपैयाँ बराबरको किबी उत्पादन गर्ने गरेको बताए । उत्पादित किबी सबै एकपटक बिक्री नहुने हुँदा अफसिजनमा बेच्न राख्नको लागि शितभण्डारको खाँचो रहेको उनले सुनाए ।
शैलुङका किबी किसान कार्कीको जस्तै दुखेसो जिरी–२ एलुङका किसान पासाङ तेन्जी शेर्पाको पनि रहेकोे छ । शेर्पा जिरीका एक सफल किबी किसान हुन् । शेर्पाले पनि वार्षिक हजारौँ केजी किबी उत्पादन गर्दै आएका छन् । उनले पनि अफसिजनको लागि काठमाडौंमा नै किबी भण्डार गर्दै आएको बताए । जिल्लामा किबी खेती गर्ने किसान बढे पनि किबी राख्ने शितभण्डार नभएको उनले सुनाए । केही निर्माण भएका शितभण्डार पनि प्रयोगबिहीन बन्दा आफूजस्तै किबी व्यवसायीहरूले ठूलो समस्या भोग्नुपरेको उनले बताए ।
दोलखाका विभिन्न स्थानमा निर्माण भएका शितभण्डार किसानलाई पाएक पर्ने ठाउँमा छैनन् । कतिपय निर्माण भएर थन्किएर बसेका छन् । ‘जिल्लामा किबीको बजार छैन । उत्पादित किबीको माग काठमाडौंलगायतका ठूला बजारमा राम्रो भए पनि दोलखाको किबीलाई अफसिजनसम्म राख्न काठमाडौंमा नै पर्याउनुपर्ने बाध्यता छ’, शेर्पाले भने । शेर्पाको सर्वाखास कृषि फार्ममा उत्पादन भएको किबी पछिल्लो समय देशभर लोकप्रिय र स्वादिष्ट बन्दै गएको छ । अन्य साना किसानले भदौदेखि नै किबीलाई बजारमा ल्याउने गरे पनि आफ्नो फार्मबाट कात्तिक–मंसिरपछिको समयमा मात्रै बजारमा किबी जाने गरेको उनले बताए । बजार पाउने आसमा कतिपय किसानले काँचो किबीलाई बजार पुर्याउदा केही समस्या उत्पन्न भएको उनले बताए ।
शेर्पाले हाल एक हजार नौ सय बोट किबी लगाएका छन् । उनले ग्राहकको रोजाइअनुसारको गुणस्तर र साइजअनुसारको किबी मात्रै ग्रेड वर्गीकरण गरेर बजार लाने गरेको जानकारी दिए । काठमाडौंमा मासिक प्रतिकेजी पाँच रुपैयाँ तिरेर असारसम्म जिरीको किबीलाई कोल्डस्टोरमा राखेर पोखरा, जनकपुर, गुल्मी तथा भारतसम्म पठाउने गरेको उनले बताए । शेर्पाले यस वर्ष एक हजार दुई सय केजी किबी भारत निर्यात गरेको जानकारी दिए ।
करोडौं लगानी गरेर निर्माण गरेको तीन सय मेट्रिक टन भण्डारण क्षमताको शैलुङ शितभण्डारलाई प्रयोगमा ल्याउन सके दोलखामा उत्पादन हुने आलु, किबी, काउली र अन्य तरकारीहरू अफसिजनमा पनि सहजरूपमा राख्न सकिने किसानहरू बताउँछन् । २०७८/०८९ सालमै छ करोड ४५ लाख लगानी गरेर शितभण्डार निर्माण गरिएको थियो ।