सोलुखुम्बु । नेपाली सेनाले फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । सेना दिवसको अवसरमा माघ १५ गतेदेखि १८ गतेसम्म जङ्गी अड्डामा ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ सञ्चालन हुन लागेको हो ।
प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिनेछ । साथै, प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायतको विविध गतिविधिको प्रदर्शनी हुने जनाइएको छ । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले सो प्रदर्शनी आयोजना गर्न लागिएको सेनाले जनाएको छ । उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई माघ १५ गते १२ बजेदेखि ५ बजेसम्म र माघ १६ गतेदेखि १८ गतेसम्म १० बजेदेखी ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने नेपाली सेनाको अपेक्षा छ ।