काठमाडौं । ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा प्रेरक वक्ता एवं लेखक डा. भूपेन्द्र सिंह राठोरको नेतृत्व विकाससम्बन्धी कार्यक्रम यही माघ १८ र १९ गते काठमाडौंमा हुने भएको छ । ’अनलक योर ट्रु पोटेन्सियल’ र ’एक्सक्लुसिभ लिडरसिप प्रोग्राम’ नाम दिइएको सो कार्यक्रम प्रज्ञा प्रतिष्ठान र द सोल्टी काठमाडौंमा आयोजना हुन लागेको हो ।
नेपाली उद्यमी, व्यवसायी एवं पेशाकर्मीहरुको नेतृत्व तथा व्यक्तित्व विकास र व्यवसायमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको स्कुल अफ लिडरसिपका अध्यक्ष हरिप्रसाद डुम्रेले जानकारी दिए । यो कार्यक्रमले देशको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्य राखिएको पनि आयोजकले जनाएको छ । उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कुल, कलेज, विश्वविद्यालय, अन्य उद्योग व्यवसायका अध्यक्ष सञ्चालक तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको बताइएको छ ।
यो कार्यक्रम व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिहरूको अवलम्बन र निर्णय लिने क्षमताको विकाससँग सम्बन्धित विषयमा केन्द्रीत रहने बताइएको छ । बदलिँदो परिस्थितिले अर्थतन्त्रमा परेको नकारात्मक असर र यसको कारण खोजी गर्न पनि यो कार्यक्रम प्रभावकारी हुने बताइएको छ ।
’व्यवसायलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नेतृत्वले लिने निर्णय, कला समूह निर्माणका साथै नयाँ उद्यम तथा व्यवसायको सञ्चालन र व्यवसायलाई दीर्घकालीनरूपमा प्रगतिको पथमा कसरी लैजाने भन्ने विषयमा समेत प्रशिक्षणले सहयोग गर्नेछ’ डुम्रेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ’समग्र नेपाली उद्यमी तथा व्यवसायीहरूलाई बहुउपयोगी एवं लाभदायी हुने विश्वास लिएका छौँ ।’