काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा विहिबारदेखि हुने भएको छ । चेम्बरले सोमबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रियस्तरको सफ्टवयेर एन्ड एआई प्रोजेक्टसहित आठौं चेम्बर एक्स्पो गर्न लागिएको जानकारी दिएको हो ।
माघ २१ गतेसम्म चल्ने मेलामा स्थानीय उत्पादनहरूको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ । सूचना प्रविधिको विकाससंगै चेम्बर एक्स्पोको आर्कषणका रूपमा यो वर्ष सफ्टवयेर एण्ड एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सवैभन्दा महत्वपुर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रूपमा विकास गरिनुपर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरूको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए ।
चेम्बरको सूचना प्रविधि समिति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आईटी उत्पादनहरूलाई उच्च प्राथमिकतामा राखिएको बताए । एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ताकपडाका सामानहरू, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, होल एप्लाएर्स, लजिस्टिक, टेक्सटायल, फर्निचर, गार्मेन्ट, ज्वेलरी, खाद्य तथा दुग्ध उत्पादनलगायतका सामग्रीहरूको प्रदर्शनी रहनेछ । एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका देशहरूमा उत्पादित बस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउनेछन् । स्वदेशी र विदेशी गरी एक सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिनेछन् ।
पाँच दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वल्र्ड लिङ्क तथा एजुकेसन पार्टनरका रूपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन् । अटो पेभेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्लेजोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ ।