नवलपुर । नारायणी नदी किनारमा ड्याम लगाउने काम राजनीतिक विवादका कारण रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्चले नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको बताए ।
मध्यविन्दुका वडा नं २, ४, ६, १२ र १५ का बस्ती गत वर्षको असोज ११ र १२ गते नारायणीमा आएको बाढी ड्याम भत्काएर बस्तीमा छिर्दा डुवानमा परेका थिए । मानवीय क्षति नभए पनि उर्बरभूमि बगरमा परिणत भएको थियो । नदी कटानले नन्दपुर, सीतापुर र धजाह बस्ती बढी जोखिममा छन् । कैयौं घरपरिवार अहिलेसम्म पनि विस्थापित भएका छन् ।
नगरपालिकाले ड्याममा ग्याबिन तार जाली लगाउने, ठुला ढुङ्गा किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउने लगायत काम भइरहेको अवस्थामा एक्कासी फागुनसम्मका लागि रोकिएको जनाएको छ ।
यो ठाउँमा तत्काल बाँध नबाध्ने हो भने आगामी वर्षामा यसले झन ठुलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । कांग्रेस र एमालेका केही नेताहरूको इगोका कारण काम अघि बढ्न नसकेको स्थानीयले बताएका छन् । विवादका कारण कामलाई निरन्तरता दिन नसकिएको आयोजनाका डिभिजन इन्जिनियर प्रकाश लम्सालले बताए ।