काठमाडौं । एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । कम्पनीले सो सिरिजको लागि नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गर्ने सम्झौता गरेको हो ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको कम्पनीले जनाएको छ । यो सिरिजअन्तर्गतको खेल बिहीबारबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको छ । नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ । सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दैछ । कप्तान इन्दुसँगै टिममा पूर्व कप्तान रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन् । यो सहकार्य वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको ज्वलन्त उदाहरण भएको एनसेलले जनाएको छ । कम्पनीले खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकताको प्रवद्र्धनमा योगदान दिँदै नयाँ उचाइ हासिल गर्ने लक्ष्य रहेको बताएको छ ।