काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । कांग्रेसको सहकारी विभागले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेस र सहकारी’ विषयक गोष्ठीमा उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सरकारले सहकारीमैत्री ऐन जारी गरेको बताए । साथै, उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको उल्लेख गरे । बीपी कोइरालाले २०१६ मा अवलम्बन गरेको आर्थिक नीति र सहकारीको सान्दर्भिकता आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै उनले सहकारी मूल्य, मान्यता, मर्म र अवधारणाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ’, उनले भने ।
कार्यक्रममा पूर्वसचिव गोपीनाथ मैनालीले सहकारीमा पछिल्लो समय समस्या सिर्जना गरेर अरूलाई जिम्मेवार दिने प्रवृत्ति बढेको बताए । ‘सञ्चालक र सदस्यहरूबीचको साझा बन्धन टुटाएर समस्या आएको हो, पीडक पक्ष हाबी भएर पीडित पक्ष ओझेलमा परे, स्वनियमन घट्दै गयो, राजनीतिको छाताभित्र रहेर नीतिगत व्यवस्थामा प्रभावित पारियो, गलत गर्ने सहकारीले गलत स्वीकार्न सकेनन्’, उनले भने । सहकारीका सदस्यले गरेको व्यवसायमा, सहकारी सहकारीबीचमा र राष्ट्र बंैकले जारी गर्ने डिबेञ्चर र नेपाल सरकारले जारी गर्ने ऋणपत्रमा मात्रै लगानी गर्न पाइनेमा ९० प्रतिशत गैरसदस्य कारोबार भएको उल्लेख गर्दै उनले यसले समस्या सिर्जना गरेको बताए ।
नेपाली कांग्रेस सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सातै प्रदेशका सहकारीकर्मीसँग सहकारीको सुरक्षाका विषयमा छलफल भएको बताए । बचतकर्ताको बचत हिनामिना गर्दा सहकारीमा समस्या आएको उनको भनाइ थियो । बचतकर्ताको रकम हिनामिना हुन नदिनेतर्फ सबै सधैँ सचेत रहनुपर्नेमा उनले जोड दिए ।