दोलखा । दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण वर्षको रूपमा मनाउने भएको छ । नेपालको स्वीट्जरल्यान्ड उपनामले परिचित जिरीमा करिब ५० हजार पर्यटक भित्र्याउने गरी नगरपालिकाले भ्रमण वर्षको घोषणा गरेको हो ।
नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन ३ गते जिरी भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने जानकारी दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा ५० हजार पर्यटक जिरी भित्र्याउने लक्ष्य राखेको थियो । सो लक्ष्य हासिल गर्नको लागि जिरी भ्रमण वर्ष २०२५ आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले जिरी भ्रमण वर्षका मुख्य उद्देश्यहरू सार्वजनिक गरेका थिए । जिरीको भौगोलिक विशिष्ठता, सामाजिक, सांस्कृतिक र धार्मिक धरोहर, लोभलाग्दो हावापानी, जैविक विविधतालगायतका पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक जिरी भित्र्याएर पर्यटनलाई जिरीको मुख्य आर्थिक आधारको रूपमा स्थापित गर्ने उद्देश्यले भ्रमण वर्षको मनाउन लागिएको उनले बताए ।
जिरीलाई नेपालकै आकर्षक एवम् बागमती प्रदेशको प्रमुख पर्यटकीय नगरीको रूपमा विकास गर्ने आधार तयार गर्ने उनको भनाइ थियो । नगर प्रमुख जिरेलले जिरीमा कम्तीमा एक दिन बास बस्ने गरी पर्यटक भित्र्याउने योजना रहेको बताए । भ्रमण वर्ष अवधिभर जिरीमा कम्तीमा २५ करोड बराबरको आर्थिक क्रियाकलाप हुने गरी विविध कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, उनले जिरीमा नियमित पर्यटक ल्याउन प्रत्येक वर्ष कम्तीमा २५ हजार पर्यटक बास बस्ने गरी भ्रमण गर्ने वातावरण तयार गर्ने बताए । यस्तै, उनले भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार जिरीका पर्यटकीय स्थलहरू, यहाँको सामाजिक, सांस्कृतिक आर्थिक गतिविधिको उजागर गर्ने प्रचारप्रसार सामग्रीहरू (फोटो पुस्तक प्रचारात्मक भिडियो, ब्रोसर, पर्यटन गन्तव्य सूचना बोर्ड आदि) तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । जिरी भ्रमण वर्ष कार्यक्रमलाई सफल बनाउन आवश्यक साझेदारी सहयोग एवम् समन्वयका लागि पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य संघ केन्द्रीय कार्यालय, बागमती प्रदेश मुख्यमन्त्री कार्यालयलगायतका सम्बन्धित निकायमा छलफल एवम् सहयोगको लागि अनुरोध गरिएको प्रमुख जिरेलले जानकारी दिए ।
यस्तै, जिरीस्थित पर्यटन गन्तव्य स्थलहरूको सरसफाई, मर्मत सम्भार गर्ने कार्य भइरहेको छ । जिरीमा आउने पर्यटकहरूको आतिथ्यतालाई व्यवस्थित गर्न होटल व्यवसायीहरूसँग छलफल गरी खाना तथा बासको दररेटको प्याकेज निर्धारण गरिएको छ । जिरी पुग्ने पर्यटकको लागि एक दिनको होटल प्याकेज एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म निर्धारण गरिएको छ भने जिरी भ्रमण गर्न आउने पर्यटकहरूको यात्रा सहजीकरण गर्न स्थानीय यातायात व्यवसायीहरूसँग यात्रा रुट र भाडादर निर्धारण गर्न छलफल गर्ने जनाइएको छ ।
नगरले जिरी भ्रमण वर्षको लोगो र नारा कार्यपालिकाबाट स्वीकृत समेत गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।
भ्रमण वर्षको अवधिमा जिरीलाई विश्वमा चिनाउने स्वीट्जरल्यान्डका नागरिक टोनी हेगनकी छोरी डाक्टर क्याट्रिन हेगनको टोली जिरी भ्रमण तथा जिरी स्वीट्जरल्यान्ड समीक्षासहित फोटो प्रदर्शनी हुनेछ । नगरले भ्रमण वर्षभर साइकल रूट, पदयात्राको रुट निर्धारण गरेरे हनुमन्ते, क्याङ्से, चेर्दुड, रामबोले, जिरेस्वरी, स्टोनपार्क, पुम्पा, पाँचपोखरी, जट्टापोखरी भ्रमण एवम् स्टेको व्यवस्थापन गर्ने समेत योजना बनाएको छ ।