लुम्बिनी । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन् ।
उपप्रधानमन्त्री पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन सोमबार शिलान्यास गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्येष्ठ नागरिकको सम्मानका लागि सचेत रहेको बताए । उनले यसको उदाहरण तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५२ सालमै ज्येष्ठ नागकिको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेको स्मरण गराए ।
उपप्रधानमन्त्री पौडेलले सामाजिक सुरक्षा भत्ता तत्कालीन अवस्थामा रु. १०० बाट सुरु भएको र आफू अर्थमन्त्री हुँदा चार हजार पुर्याउने अवसर पाएको उल्लेख गरे । उनले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताए । “बजेट निर्माणका बेलामा प्रधानमन्त्रीले मलाई बोलाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, मैले उहाँको निर्देशनबमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”, उनले भने, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनुपर्छ ।”
सामाजिक सुरक्षा भत्ता प्रदान गर्नु ज्येष्ठ नागरिकका लागि ठूलो अर्थ र महत्व रहेको उल्लेख गर्दै उनले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको बताए । रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका इच्छा र आकाङ्क्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताए । कार्यक्रममा सांसद वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गरे । रुपन्देहीको तिलोत्तमा–४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी ५०० ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिए ।