काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गर्दै उनले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ लागेको उल्लेख गरे । राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको समेत दाबी गरे । सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने उनको भनाइ थियो । त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताए । नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
‘स्थानीय सरकार जनताको नजिकको सरकार हो । तीनै तहका सरकार जनताको समस्या समाधान गरी समृद्ध मुलुक निर्माणका लागि बनेको हो’, उनले भने, ‘सरकारको स्थायित्व नहुँदा जनतामा निराशा थियो । नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दल मिलेर सरकार बनाएपछि आशा जगाउने काम गरेका छौँ ।’ सिंहले प्राप्त उपलब्धिको रक्षा गर्न र विकासको आकांक्षा पूरा गर्न सरकार काम गरिरहेको उल्लेख गरे ।