चितवन, साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीविरुद्ध मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन् ।
रवि र छविसँगै रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । यस्तै, गोर्खा मिडिया प्रालि, साहरा बचतसहित छवटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ । साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालिमा रकम गएको पाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पूरक अभियोग मंगलबार दर्ता गरिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार तीन सय आठ दशमलव ४७ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिए । ५२ करोड रुपैयाँमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ रुपैयाँ जाहेरी परेका बखत पुनः पुरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।
लामिछानेको हकमा ठगी मुद्दा दर्ता भएको छ तर बिगो दाबी गरिएको छैन । लामिछानेको हकमा गोर्खा मिडिया नेटवर्कमा एक करोड ८० लाख रुपैयाँबराबरको सेयर रहेको देखिन्छ । गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई र हिमालयन बैंकको खातामा जीबी राई र निजको समूहले सञ्चालन गरेको सहकारी र विभिन्न कम्पनीबाट साहाराबाट एक करोड ग्लोबल आईएमईको खाताबाट तीन करोड ५० लाख रुपैयाँ जम्मा भएकोे देखिन्छ ।
लामिछानेको एकल दस्तखतबाट आठ सय १४ वटा चेक काटेको देखिएको अभियोगमा उल्लेख छ । सोमार्फत ४८ करोड ५८ लाख २२ हजार दुई सय ४६ र जीबी राई रविको संयुक्त दस्तखतबाट छवटा चेकबाट ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको बैंक स्टेटमेन्ट र चेक विवरणबाट पुष्टि गरिएको छ ।
गोर्खा मिडिया कम्पनीको बैंक खाताबाट चार वटा चेकबाट प्रतिवादी कायम हुनआएको लामिछानेको श्रीमती निकिता पौडेलको नाममा ३९ लाख ३८ हजार दुई सय ५१ रुपैयाँ र गोरखा मुभिजको नाममा दुईवटा चेकमार्फत ८१ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको छ ।पुरक अभियोगमा लामिछानेको हकमा ठगी र संगठित अपराधको दुवै अभियोग नलिई मुलुकी अपराधसंहित २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीतको कसुरमा सोहीअनुरूप दफा २४९ को उपदफा ३ ‘ग’ बमोजिम सजाय हुने मागदाबी भएको छ ।