काठमाडौं । सामान्यतया जहिले पनि बाहिरबाट कति रकम आयो भन्ने हिसाब मात्रै सुनाइन्छ । देशबाट कति बाहरियो भन्ने सधैँ गुपचुप नै रहने गरेको छ । तथ्याङ्कले के देखाउँछन् भने रकम बाहिरने कारणमा सबैभन्दा ठूलो रकम व्यक्तिगत भ्रमणमा हुने गरेको छ, जसमा सरकारी कर्मचारीको भागमा बढी अंक पर्छ । त्यसपछि विद्यार्थीहरू जो पढाइका लागि विदेश जान्छन् । पढाइका लागि विदेश जानेहरूको संख्या ठूलो हुनु त्यति ठूलो कुरा नहोला । किनभने यो रकम उनीहरूको आफ्नै हो । सरकारले दिने भनेको विदेशी विनिमय मुद्रा मात्रै हो । देशमा यस्तो मुद्रा एक प्रकारले खर्च गरिनसक्नुको अवस्थामा नै छ । आयात व्यापार विगतको भन्दा घटिरहेको अवस्था छ । त्यो देखाउने माध्यम हो, राजस्वको उठ्ती । विगत केही वर्षदेखि राजस्व पर्याप्त उठिरहेको छैन । यसको प्रमुख कारणमा कि त चुहावट बढिरहेको छ कि आयात व्यापार घटिरहेको छ । नेपालको राजस्वको प्रमुख स्रोत नै व्यापार हो । यो घट्दै जाँदा स्वाभाविकरूपले आम्दानीमा पनि प्रभाव पर्ने भयो नै । यहाँ उठाउन खोजिएको विषय हो कतै बाहिरिएको रकम सरकारी कोषको त होइन भन्ने पनि प्रश्न उठने गरेको पाइन्छ । झन्झन् पछिल्ला दिन सरकारी भ्रमण झन्झन् बढी हुन थालेका छन् ।
नेपालमा पर्यटकको संख्या बढिरहेको भन्ने सरकारी पक्षको दाबी रहने गरेको छ । तर विदेशी पर्यटक नेपाल आउनेभन्दा नेपालबाट विदेशिनेहरूको संख्या आएकोभन्दा गएको रकमको हिसाबले ठूलो देखिन्छ । सम्बन्धित निकायका विवरणअनुसार चालु वर्षको साउनदेखि बितेको पुससम्मको अवधिमा विदेशी पर्यटकका नाममा नेपालमा ४१ अर्ब ८६ करोड तीन लाख खर्च गरिएका देखिन्छन् भने नेपालबाट विदेशतर्फ यात्रा गर्नेहरूले) एक खर्ब एक अर्ब ९१ करोड ६३ लाख रुपैयाँ बाहिर लगेको पाइयो । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमणमा आय ५ दशमलव १ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुग्दा भ्रमण व्यय भने १० प्रतिशतले बढेर १ खर्ब १ अर्ब ९१ करोड ६३ लाख रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालबाट भ्रमण खर्चमा लगिएको रकम बिजनेस र व्यक्तिगत गरेर झन्डै तीन खर्ब पुगेको देखिन्छ । हालै प्रकाशित बैंकको प्रतिवेदनमा भनिएको छ, बिजनेस शीर्षकमा दुई अर्ब २० करोड बाहिरिएको छ भने व्यक्तिगत शीर्षकमा ९९ अर्ब ७० करोड ७६ लाख रुपैयाँ बाहिरिएको छ । योमध्ये दुईवटा क्षेत्र स्वास्थ्य शीर्षकमा ३५ करोड २८ लाख, विदेशमा पढ्नका लागि ५६ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ बाहिरिए छ ।
शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालबाट ५६ वटा राष्ट्रमा नेपाली विद्यार्थीले अध्ययन गरिरहेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार जापान, बेलायत संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडालगायत देश नेपाली विद्यार्थी फैलिएका छन् । यो विवरणले बताउने कुरा हो नेपाली विद्यार्थीले देश छाड्ने क्रम पनि बढ्दैछ । यो भनेको वैदेशिक रोजगारीमा गएकाहरूको संख्या बढिरहेको भनिएका बेला विद्यार्थीले पनि देशमा बस्न नरुचाएको अवस्था भने ओझेलमा परेको स्थिति हो । वार्षिक आधा खर्ब रुपैयाँ पठनपाठनका लागि बाहिरएको अवस्थाले नेपालको शिक्षा क्षेत्रलाई पनि चुनौती दिइरहेको अवस्था मननीय हुनुपर्छ । शिक्षा क्षेत्र देशले सबैभन्दा बढी लगानी गरेकोमा पर्छ । त्यसको प्रतिफल भने बाञ्छित देखिएन । यस्तो अवस्थाको कसैनकसैले जिम्मा लिनु आवश्यक छ ।