काठमाडौं । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकमेजिङको सबै भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पूरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन् । यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् । ‘क्यान्सरको उपचार मात्र होइन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौँ ।’ यस्ता चेतावनीमूलक सूचनाले सुर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरूले देखाएका छन् ।
नेपालमा हरेक वर्ष ३७ हजारको सुर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्याङ्कमा छ । सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकमेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत भएपछि अब चुरोट र सुर्तीको अगाडि र पछाडिको पूरै भागमा प्रयोगले पार्ने असरसम्बन्धी चेतावनीमूलक चित्र छापिनेछ । यस्तो चेतावनीका कारण थाइल्यान्डमा ८५ प्रतिशतले धुम्रपान छाडेको एक अध्ययनले देखाएको छ । यो दर पाकिस्तान तथा म्यानमारमा पनि उच्च रहेको तथ्याङ्कले देखाएका छन् । नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।