जुम्ला । जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि यहाँका किसान समस्यामा परेका छन् । हिउँदे बाली सुक्न थालेको तिला गाउँपालिका– १ का स्थानीयवासी जय बुढाले जानकारी दिए । गाउँमा सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएका छन् ।
लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ । यस याममा विशेषगरी स्याउका नयाँ बिरुवा लगाउने समय होे । माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा यहाँका किसानलाई सास्ती उनको भनाइ छ । जिल्लामा हिउँदे बालीको रूपमा गहुँ, जौ र विभिन्न तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नपर्ला बारीमै सुक्न थालेपछि जिल्ल्लाका कृषक चिन्तित बनेका छन् । विगतका वर्षहरूमा समय–समयमा पानी तथा हिउँ पर्ने गरेको थियो । यो वर्षको समयमै वर्षा नहुँदा उब्जनीमा ह्रास आउने यहाँका किसानको भनाइ छ । विगतका वर्षहरूमा हरेक हिउँदमा हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो । तर पछिल्लो वर्षहरूमा हिउँ सारै कम परिरहेकाले उब्जनीमा समेत कमी भएको छ ।
सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतको बताए । जिल्ला भर कुल दुई लाख ५३ हजार एक सय हेक्टर क्षेत्रफल जमिन रहेको छ । यसमा ३८ हजार चार सय ८६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ भने २६ हजार चार सय ३५ हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको छ । सिँचाइ गर्ने योग्य जमिन तीन हजार छ सय ५० रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए ।