काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताएका छन् । बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजले बिहीबार आयोजना गरेको १३औँ विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उनले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्नेमा जोड दिए ।
‘विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी हुनेछ, हाम्रोजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी छ’, उनले भने । राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उनको भनाइ छ । उपप्रधानमन्त्री सिंहले विद्यार्थीले सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक बनाउन यस्ता प्रदर्शनीले मद्दत पुग्ने बताए । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा प्रदान गर्नुपर्ने बताए । कलेजका अध्यक्ष वासुदेव विष्टले विज्ञान र प्रविधिको विकासविना कुनै आविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापनाकालदेखि विज्ञान र प्रविधिलाई जोड दिँदै आएको बताए । बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा निजी तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीका तर्फबाट ६० भन्दा बढी स्टल राखिएको छ ।