काठमाडौं । सुख्खा एवं गर्मी मौसमको सुरुवातसँगै आगलागीका घटनाहरू दिनप्रतिदिन अत्यासलाग्दो गरी बढ्ने गर्छ । आगलागीका कारणबाट ठूलो धनजनको क्षति हुने क्रम बढ्दो छ । यसबाट मानवीय क्षतिको अतिरिक्त जङ्गल, जमिन, जङ्गली जनावर र जल समेतको सन्तुलनमा व्यापक हानि पुग्न गएको छ । घर तथा वनजङ्गलमा हुने आगलागीका विभिन्न कारण हुन सक्छन् । तर अधिकांश मानवीय असावधानीकै कारण हो । आगलागी मानवीय कारणबाट करिब ९६ प्रतिशत र बाँकी प्राकृतिकलगायतका अन्य कारण हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यस वर्षको आगलागीको प्रकोप जङ्गलमा लागेको डढेलोले गर्दा भएको देखिन्छ । आगलागीबाट हुने यस्तो क्षतिलाई नियन्त्रण के गर्नुपर्ला ? चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । आगलागीबाट बच्ने उपायहरूको बारेमा जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारिताको बारेमा लेखाजोखा गरिनुपर्छ । आगलागीको कारण र निराकरणका बारेमा अध्ययन अनुसन्धान गरेर पूर्वसावधानीका उपायहरू खोजिनु दूरदर्शिता ठहर्छ ।
एउटा रुखबाट हजारौँ काँटी सलाई बन्छ । तर दुरुपयोग हुँदा एउटा काँटीले हजारौँ हेक्टर जङ्गल सखाप पार्न सक्छ । नेपालको धन हरियो वन भन्ने नारा कागजमै सीमित हुनेगरी वन विनास तीब्र गतिले भइराखेको जगजाहेर नै छ । मुलुकको करिब ४५ प्रतिशत भू–भाग ओगटेको वनजङ्गलमा अहिले जताततै डढेलोको प्रकोप बढ्ने क्रममा छ । वनजङ्गलको डढेलो गाउँबस्तीमा पसेर अर्बौंको भौतिक संरचनाहरू नस्ट हुने क्रम बढेको छ ।
आगलागीका घटनाहरू विश्वभर दिन प्रतिदिन बढ्दो छन् । भीषण आगलागीका कारण सम्पन्न र शक्तिशाली भनिएको अमेरिकालाई समेत त्राहिमाम बनाएको जगजाहेर नै छ । जलवायु परिवर्तन तथा मानवीय हेलचक््रयाईंका कारण यस्ता विनासकारी घटनाहरू हुने गरेका छन् । नेपालमा पनि सुख्खा मौसमको सुरुवातीसँगै वनजंगलमा डढेलोको तीव्रता बढ्ने गर्छ । भर्खरै काभ्रेपलाञ्चोक जिल्लाको महाभारत क्षेत्रमा लागेको आगोले धेरै विनास गरेको छ । अब यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दै जाने हुँदा नियन्त्रण र नियमनका उपायहरू बेलैमा तर्जुमा गर्नु दूरदर्शिता ठहर्छ ।
डढेलोको कारणबाट प्राकृतिक सम्पदाका अतिरिक्त धनजनको अपूरणीय क्षति वर्षेनि हुने गरेको छ । आगलागीबाट वनजंगल मात्र नभएर मानव बस्ती समेत सखाप पारेको समाचार दिनप्रतिदिन बढ्दो छ । डढेलो कारणले कुनै एक पक्ष मात्र नभएर बहुआयमिक असर पारेको छ । डढेलो अनियन्त्रित भएर हुने क्षतिको बारेमा सरकार र सरोकार पक्षको गम्भीर चिन्ता र चिन्तनको विषय बन्नुपर्छ ।
आगलागीबाट वातावरणीय प्रदूषणमा पनि व्यापक असर पारेको छ । वायुमण्डलमा धुवाँधुलो र तुवाँलोको कारण विभिन्न खाले श्वासप्रश्वाससम्बन्धी रोगहरू फैलिने क्रमले तीव्रता पाउँछ । अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचाङ्क (एक्युआई)अनुसार शून्यदेखि ५० सम्मलाई स्वस्थकर, ५१ देखि सयसम्मलाई अस्वस्थकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थकर मानिएको छ । डढेलोको कारणबाट निक्लेको धुवाँधुलोको कारण हिमाली भेगमा समेत असर पारेको छ । हिमालमा अत्याधिक हिउँ पग्लेर काला ढुंगाहरू देखिन थालेका छन् । जङ्गली जनावर तथा पशुपन्छीलगायताका जीवजन्तुहरूको वासस्थान नास हुन पुगेको छ । कतिपय जनावरहरू डढेलोका चपेटा परेर मरेका छन् । कतिपय सुरक्षा खाज्दै गाउँबस्तीमा पसेर मानिसलाई नै आक्रमण गरेका छन् । डढेलो नियन्त्रण गर्न पुगेका मानिसहरूको मृत्यु समेत भएका छन् । तराईमा गाउँबस्ती नै सखाप भएका छन् । पीडितहरूको जीवन कष्टकर हुन पुगेको छ । पीडितहरू तत्कालका लागि गाँस, बास र कपासका लागि सरकार र सहयोगी संस्थाहरूसँग याचना गरिराखेका हुन्छन् । डढेलोबाट वर्षेनि हुने यस्तो प्रकोपका कारणहरू बारे समयमा नै बहस र रोकथामका उपाय खोजिनु जरुरी छ ।
वनजंंजलमा डढेलो लाग्नुका विभिन्न कारण हुन सक्छन् । वन पैदावरको चोरी निकासी तथा नयाँ घाँस पलाउने लोभ र भ्रमका कारणबाट पनि कतिपय मानिसले डढेला लगाउने गरेका छन् । केटाकेटीले अन्जानवश रमाइलोका लागि पनि आगो लगाउने गरेका भनाइ पनि छ । त्यस्तै चुरोट बिँडी खाएर राम्रोसँग न निभाइकन जथाभावी फालेको कारणबाट पनि डढेलो लाग्ने गरेको छ । मानव बस्तीमा बिजुलीको तारमा सटसर्किट भएर, ग्यास लिक भएर, अगेनामा आगो बालीसकेपछि राम्रो सँग ननिभाउँदा पनि आगलागीका भयंकर घटनाहरू हुने गरेका छन् । कतिपय अवस्थामा चट्याङ हावाहुरीका कारणबाट पनि आगलागीका घटनाहरू हुने गरेका छन् ।
आगलागीलाई नियन्त्रण गर्ने विभिन्न उपायहरू हुन सक्छन् । वनजङ्गलमा वन हेरालुको व्यवस्था गर्ने । यस्तो हेरालुको व्यवस्था वर्षभरि नै नसके पनि सुख्खा मौसमको समयलाई भए पनि राख्नु उपयुक्त हुन्छ । डढेलोलगायतका अन्य कारणबाट वन विनासले हुने हानिनोक्सानका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु दूरदर्शिता ठहर्छ । डढेलोको नियन्त्रणका लागि अग्नि रेखा (खोल्सा) खन्ने, डढेलो नियन्त्रणका लागि दमकललगायत अग्नि नियन्त्रणका सामग्रीको पर्याप्त व्यवस्था गर्ने, आगलागीको उच्च जोखिम हुने समयमा सरकार र सरोकार पक्षबाट आपतकालीन दक्ष उद्दार टोलीहरूको व्यवस्था आदिले गाउँबस्तीको आगलागी तथा वनजङ्गलमा डढेलोबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।
पहिल्यै सावधानी अपनाउनुको सट्टा आगलागी भएपछि मात्र कुवा र इनार खन्ने हाम्रो प्रवृत्तिले पनि क्षतिको मात्रा बढेको सहजै अनुमान गर्न सकिन्छ । आगलागीको नियन्त्रण र नियमन गर्न तीन तहका सरकारका बीच सहकार्य र सहयोग हुनु आवश्यक छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले पनि आगलागीको क्षति बढेको हो । आगलागीपीडितहरूको लागि पर्याप्त राहत नपुगेको गुनासोलाई सम्बोधन गर्न राज्यले तदारुकता देखाउन पछि पर्नुहुन्न । विद्यमान नीतिनियममा आवश्यकताअनुसार परिमार्जन गरेर व्यावहारिक बनाउन बिलम्ब गरिनुहुन्न । वनजङ्गलमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ । तर सरोकार निकायको उदासीनताका कारण खासै कारबाही गरेको पाइएको छैन । यसरी कानुनी कारबाही फितलो हुनाले दोषीहरूको मनोबल र हेलचक्र्याईं झन् बढेको छ । आगलागीबाट हुने क्षतिका गाम्भीर्य बुझ्नेबुझाउनेतर्फ प्रभावकारिता नहुनाले वर्षौं लागेर हुर्केका बोटविरुवा क्षणभरमै सखाप हुने गरेका छन् । आगलागीबाट हुने क्षतिलाई बेलैमा सुरक्षा र सावधानी अपनाउन सरकार र सरोकार एवं सम्पूर्ण सचेत नागरिकको कर्तव्य हो ।