काठमाडौं । सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
उनले संविधान दिवस, प्रजातन्त्र, दिवस, लोकतन्त्र दिवस जस्ता जनताले ल्याएका उपलब्धिका दिनहरु जनताले जनस्तरबाट मनाउन पाउनुपर्ने उल्लेख गरे। उनले नेपालमा सबैभन्दा ठूलो परिवर्तन गर्ने आन्दोलन २००७ सालको आन्दोलन नै भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा जनस्तरबाट प्रजातन्त्र दिवस मनाउनका लागि राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन भएको छ । २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ ।
यस्तै, सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ । यस वर्ष तीन दिन फागुन ६, ७ र ८ गतेसम्म नेपाल र विदेशस्थित नेपाल राजदुतावास, कुटनीतिक नियोग एवं वाणिज्य दुतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मुल कार्यक्रम आयोजना हुनेछ ।