काठमाडौं । यो लेखमा सन् २०१९ देखि सन् २०२३ सम्म वर्षैपिच्छे (पाँच वर्षसम्मको) नेपाल भ्रमण गर्न आएका पाँच देशका पर्यटकहरूको संंख्याको तथ्य–तथ्याङ्क केलाएर छोटकरीमा केही लेख्दैछु । साथै, विगत पाँच वर्षमा नेपाल भ्रमण गर्न आएका विभिन्न देशका पर्यटकहरूको प्रतिदिन प्रतिव्यक्ति नेपाल बसाइँ अवधि र उनीहरूले नेपालमा रहँदा प्रतिदिन प्रतिव्यक्ति गरेको दैनिक खर्चका सम्बन्धमा पनि तथ्याङ्क केलाएर लेखिने छ ।
हो, नेपाल भ्रमण गर्न आउने पाँच देशका धेरै पर्यटक संख्यामा सधैँ पूर्व, दक्षिण र पश्चिम तीनतिरबाट घेरिएको छिमेकी देश भारतका पर्यटक पहिलो स्थानमा रहेको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थनमा चाहिँ फरकफरक देशका पर्यटकहरू रहने गरेका छन् । तथ्याङ्क हेर्दाखेरि सन् २०१९ देखि सन् २०२३ सम्म छिमेकी देश भारतका पर्यटकहरू लगातार पहिलो स्थानमा रहेका छन् । सन् २०१९ मा उत्तरी छिमेकी देश चीनका पर्यटकहरू नेपालको भ्रमण गर्ने विदेशी पर्यटकको स्थानमा दोस्रो स्थान लिन सफल रहेका थिए । तर, सन् २०२० सन् २०२१, सन् २०२२ र सन् २०२३ मा चाहिँ चीनका पर्यटकहरू नेपालको भ्रमण गर्ने विदेशी पर्यटकहरूको सूचीमा क्रमशः तेस्रो, चौथो, छैठौं र तेस्रो स्थानमा रहेका थिए । त्यस्तै, गरेर अमेरिकी पर्यटकहरू नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संंख्यामा सन् २०१९ मा तेस्रो, सन् २०२० मा पाँचौँ, सन् २०२१ मा दोस्रो, सन् २०२२ मा पनि दोस्रो एवम् प्रकारले सन् २०२३ मा पनि दोस्रो हुन सफल भएको थियो । उता युरोप महादेशको देश बेलायतका पर्यटकहरू नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा सन् २०१९ मा चौथो, सन् २०२० सातौँ, सन् २०२१ मा तेस्रो एवम् सन् २०२२ मा पनि तेस्रो र सन् २०२३ मा चाहिँ चौथो स्थान ओगट्न सफल भएको देखिन्छ । त्यस्तै, गरेर सार्क राष्ट्र बंगलादेशका पर्यटकहरू नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा सन् २०२१ र सन् २०२२ मा पाँचौँ स्थान रहन सफल भएको थियो । सार्क राष्ट्रकै श्रीलंकाका पर्यटकहरू पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा सन् २०१९ मा पाँचौँ स्थानमा रहन सफल भएको थियो । उता दक्षिण पूर्वी एसिया देशको थाइल्यान्डको पर्यटकहरू पनि सन् २०२० मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको संख्यामा तेस्रो स्थानमा रहन सफल भएका थिए । दक्षिणपूर्वी एसियाकै अर्को देश म्यानमारका पर्यटकहरू सन् २०२० मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरू संख्यामा दोस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा दोस्रो, सन् २०२२ मा दोस्रो र सन् २०२३ मा पनि दोस्रो हुन सफल भएको देखिन्छ । उता अस्टे«लियाका पर्यटकहरू पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको स्थानमा सन् २०२२ मा चौथो र सन् २०२३ मा पाँचौँ हुन सफल भएको देखिन्छ ।
यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशका पर्यटकका तथ्याङ्कका बारेमा भन्नुपर्दा हालसम्म (सन् २०१९ देखि सन् २०२३) नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) को तथ्याङ्क हेर्दा क्रमशः भारत, अमेरिका, बेलायत, चीन, बंगलादेश, श्रीलंंका, थाइल्यान्ड, म्यानमार गरेर आठ वटा देशहरू रहेको देखिन्छ । त्यसपछिचाहिँ दक्षिण कोरिया, जर्मनी, फ्रान्स, स्पेन, नर्वे, स्वीटजरल्यान्ड, रुस, अस्ट्रिया, तुर्किए–तुर्किएँ (टर्की), क्यानाडा, मलेसिया, भियतनाम, कम्बोडिया, भुटानलगायत देशका पर्यटकहरू पनि ‘टप टेन’भित्र पर्ने गरेका थिए, सन् २०१९ देखि सन् २०२३ सम्म । त्यसो त कोरोना महामारी (कोभिड–१९) का कारण अघिल्ला दुई वर्ष (सन् २०२० र सन् २०२१) नेपाल भ्रमण गर्न विदेशी पर्यटक खासै धेरै आएनन् । हुन पनि सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ मा अझ घटेर एक लाख ५० हजार नौ सय ६२ विदेशी पर्यटकहरू मात्रै नेपाल भ्रमण गर्न आए । त्यसैगरी सन् २०२२ मा चाहिँ छ लाख १४ हजार आठ सय ६९ जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आए । बरु सन् २०२३ मा भने १० लाख १४ हजार आठ सय ८२ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आए ।
नेपाल भ्रमण गर्न आउने उच्च १० विदेशी पर्यटक संख्या लामो समयसम्म पहिलो र दोस्रो स्थानमा भारत र चीन रहने गरेका थिए भने कोरोना महामारीकाल र कोरोना महामारीपछि पनि भारत सधैँ अग्र स्थानमा रहिरहन सफल भएको छ, नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याको सन्दर्भमा । सायद अझै केही दशकसम्म पनि भारतीय पर्यटक नै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा पहिलो एवम् चीनचाहिँ दोस्रो स्थानमा रहने देखिन्छ । हुन पनि चिनियाँ पर्यटकको कुरो गर्दा चीनका सर्वसाधारण नागरिकले नेपालमा पर्यटक भई भ्रमण गर्नका लागि चीन सरकारबाट सन् २००३ देखि मात्रै आधिकारिकरूपमा अनुमति पाएका हुन् । किनभने चीन सरकारले आफ्नो देशका नागरिकलाई जुनसुकै देशमा पनि पर्यटकका रूपमा जानका लागि ‘एपु्रभ्ड डेस्टिनेसन्स स्टाटस’ (एडीएस) लिनुपर्छ । चीन सरकारले एसिया महादेशका अन्य देश र युरोप, अमेरिकालगायतका देशहरूमा पनि आफ्ना देशका नागरिकलाई पर्यटक भएर घुम्न जानका लागि सन् १९८० को दशकमा मात्रै ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ दिन सुरु गरेको हो ।
जे होस्, त्यसरी सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सो वर्ष सात हजार पाँच सय ६२ जना चिनियाँ पर्यटक नेपाल घुम्न आएका थिए । त्यसपछि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकका संख्या लगातार बढेको–बढ्यै थियो । छिट्टै नै चिनियाँ पर्यटक संख्यात्मकरूपमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका संख्यामा दोस्रो नम्बरमा रहन सफल भएका थिए । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक बढ्ने क्रममा सन् २०१३ मा एक लाख १३ हजार एक सय ७३ जना पुगेका थिए भने सन् २०१४ मा एक लाख २३ हजार आठ सय पाँच जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । माथि एक प्रसंगमा भनिएझैँ आगामी केही दशकसम्म भारतीय पर्यटकहरू नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या रहने भए पनि त्यसपछि उत्तरी छिमेकी देश चीनका पर्यटकहरू नै नेपाल भ्रमण गर्न आउने धेरै संख्या अर्थात् उत्तरी छिमेकी देश चीनका पर्यटकहरूले पहिलो स्थान ओगट्ने सम्भावना देखिन्छ ।
माथि उल्लेख गरिएका देशका पर्यटकमध्ये चिनियाँ, श्रीलंंकन (सिलोन), भियतनाम, थाई (स्याम), म्यानमार (बर्मा), बंगलादेश, कम्बोडिया, मलेसिया आदि देशका पर्यटकहरू भनेका छोटो यात्रामा निक्लने र अलिक कम खर्च गर्ने खालका हुन्छन् । जस्तै, चिनियाँ पर्यटकहरू नेपालमा चार÷पाँच दिनदेखि नौ÷१० दिनसम्म बिताउने बढी आउने गरेका छन् । तापनि चिनियाँ पर्यटक ट्रेकिङ, र्याफ्टिङ, जंंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, जिप प्mलाइएर, साइक्लिङ, क्यानोइङ, बालुनिङ, कायाकिङ आदि पनि गर्ने भएको हुनाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई चाहिँ आर्थिकरूपमा केही भरथेग हुनेगरेको भनाइ रहेको छ भने भारतीय पर्यटकचाहिँ त्यसरी मल्टिपर्पोज खालको ‘ट्राभल–टुर’ गर्ने हिसाबले आउँदैनन् भन्ने नेपाली टुर अपरेटरहरूको भनाइ रहेको छ । त्यसैले गर्दा भारतीय पर्यटकभन्दा चिनियाँ पर्यटकबाट धेरै फाइदा हुने गरेको छ, नेपाली ट्राभल तथा टुर अपरेटरहलाई ।
हामीले भारतीय, चीन, श्रीलंका, थाइल्यान्ड, म्यानमार, बंगलादेश, भियतनाम, कम्बोडिया, मलेसिया आदि देशका पर्यटकहरू भित्र्याउँदा सकेसम्म डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने एवं प्रकारले कम्तीमा आठ÷दश दिनदेखि १४÷१५ दिनसम्म नेपालमा बिताउने खालका पर्यटकहरू धेरै संख्यामा भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । हुन त अन्य देशका पर्यटकका सम्बन्धमा यसै भन्न नसकिए पनि चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ भने होइनन् । किनभने लगभग एक दशकअघिदेखि संयुक्त राष्ट्र संघको मातहत रहेको युएन–डब्लुटीओलगायत विश्व पर्यटनसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले गरेको अध्ययनहरूमा चिनियाँ पर्यटकहरू लगाताररूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका छन्, दरिँदै आएका छन् । साथै, चिनियाँ पर्यटकहरू संख्याको आधारमा पनि अहिले विश्वभरिकै धेरै संख्यामा भ्रमण गर्न निक्लने पर्यटकका रूपमा पनि दरिएका छन्, दरिने गरेका छन् । सायद पृथ्वीको अस्तित्व रहेसम्म । अब चिनियाँ पर्यटकहरूको दबदबा रहिरहने छ । विश्व भ्रमण गर्ने पर्यटकका धेरै संख्या र धेरै खर्च गर्नेमा अब अन्य कुनै देशका पर्यटकहरूले पनि चिनियाँ पर्यटकहरूलाई उछिन्न वा चुनौती दिन सक्ने छैनन् ।