काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका खोला नदिको सफाई र सौन्दर्यका नाममा करिब १३ अर्ब रुपैयाँ खर्च भएको पाइएको छ । जन्मदेखि मुत्यु सम्मको संस्कारसम्म हुने नदी र खोलामा मानव मलमुत्रसहितको ढल सीधै मिसाउँदा जलसम्पदा ढलमतीमा परिणत भएका छन् । १३ अर्ब रकम खर्च गर्दा समेत उपत्यकाका नदी खोलाहरु सफा हुन सकेका छैनन् । कहिले बाढी त कहिले मानिसले गर्ने फोहोरका कारण पनि सोचेजस्तो सफा हुन सकेका छैनन ।
२०५० को दशकसम्म सामान्य अवस्थामै बग्ने बागमती, विष्णुमती, मनोहरा, रुद्रमती अर्थात् धोबी खोला, टुकुचा, चखुँचा, यज्ञमती, हनुमन्ते, गोदावरी, महादेव खोलासहितका जलसम्पदा तीन दशकको अवधिमा ढलमै परिणत भएका हुन् ।
कुनै जलसम्पदामा नुहाउन योग्य पानी छैन । त्यसमाथि बागमती नदीसहित अन्य सबै खोलामा अहिले पनि घरबाट निस्किने फोहोर पानी मिसाइएको छ, जसका कारण हिउँदमा नदी र खोला आसपासका क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ ।