वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । जुन उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृंखला हो । यो कर सबै देशहरुमा लागू हुनेछ । उनले बुधबारसम्म पारस्परिक करको घोषणा पनि गर्दै छन् । यसको अर्थ, अन्य देशहरुले अमेरिकी उत्पादनहरुमा जुनसुकै कर लगाए पनि अमेरिकाले पनि उनीहरुका उत्पादनमा त्यही कर लगाउनेछ ।
सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाउने बताएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको बताएका थिए ।
अमेरिकी व्यापार तथ्यांकअनुसार क्यानडा संयुक्त राज्य अमेरिकामा स्टिल र आल्मुनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् ।
रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सारबराबर गर्न ‘पारस्परिक भन्सार’को घोषणा गर्ने पनि बताए । ‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ’, ट्रम्पले भने ।
राष्ट्रपतिले पदभार सम्हालेलगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन् । क्यानडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोकेका छन् । तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मंगलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ ।
बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यासजस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ । गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ ।