चितवन । नारायणी डेभलपमेन्ट बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० वाइपास रोडस्थित जिल्ला सहकारी संघको भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । बैंकले २०५८ असोज १२ गतेदेखि रत्ननगर नगरपालिका वडा नं. १ टाँडीमा केन्द्रीय कार्यालय राखेर वित्तीय सेवा दिँदै आएको थियो । तर बैंकको २२औँ वार्षिक साधारणसभाले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेबमोजिम चितवनको व्यापारिक केन्द्रको रूपमा विकास हुँदै गएको भरतपुर महानगरपालिका वडा नं. १०मा स्थानान्तरण गरेको हो ।
बैंकले चितवन जिल्लालाई आधार बनाई टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालय खालेर बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्वसुलभ बनाउने अभिप्रायले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको जनाएको छ ।
बैंकले जिल्ला सहकारी संघ लिमिटेडको नवनिर्मित भवनमा माघ २७ गतेबाट स्थानान्तरण भई हाकिमचोकस्थित शाखा कार्यालयको सेवा समेत एकैसाथ शुभारम्भ गरेको जनाएको छ ।