काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप हालसम्म १० लाख किशोरीहरूले लगाएका छन् ।
अभियान छैठौं दिनसम्म देशभर १० लाख ३७ हजार नौ सय आठ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । दुई साता लामो अभियानका क्रममा करिब १७ लाख अर्थात् १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ । तर, छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीतिअन्र्तगत सुरु अभियानले राम्रो गति लिइरहेको बताए । यस्तै, उनले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरू खोप लगाउन नछुटून् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहने उल्लेख गरे । छुटेकाहरूलाई खोप लगाउने कार्यमा पनि सकारात्मक सहयोग गर्न उनले आग्रह गरे ।
‘एचपिभ’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह
पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोपसम्बन्धी केही नकारात्मक भ्रम फैलाइएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यसमा विश्वास नगर्न आग्रह गरेका हुन् । ‘खोप विश्व स्वास्थ्य संगठनले सुरक्षित र प्रभावकारी भनेर पुष्टि गरिसककेको छ । कतिपयले परीक्षणका लागि खोप लगाइएको भनेर भ्रम छरिरहेका छन्, त्यो सत्य होइन’, उनले भने ।
फागुन ६ गतेसम्म चल्ने अभियानका क्रममा एक साताको अवधिमा देशभर ६२ प्रतिशत खोप ‘कभरेज’ देखिएको उनले बताए । ‘खोपबाट कोही नछुटून् भन्ने हाम्रो लक्ष्य हो । अभियान सन्तोषजनकरूपमा चलिरहेको छ । खोप लगाएकाहरूमा सामान्य ज्वरोबाहेक नकारात्मक असर देखिएको छैन’, उनले भने । विद्यालय केन्द्रित यो निःशुल्क खोप अभियान विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट सुरु गरिएको हो । अभियानका क्रममा १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई खोप दिइएको छ ।
हालसम्म कोशी प्रदेशमा ७१ दशमलव एक प्रतिशत, मधेशमा ४१ दशमलव चार, बागमतीमा ६० दशमलव आठ र गण्डकीमा ७१ दशमलव तीन प्रतिशत खोप लगाइएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ६८ दशमलव छ, कर्णालीमा ६३ दशमलव छ, सुदूरपश्चिममा ७५ दशमलव एक प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७५ दशमलव एक प्रतिशत खोप कभरेज भएको शाखाको उपलब्ध तथ्याङ्कमा छ ।