सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीमार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी तथा अन्य सहायकहरूका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावलीअनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरूको लागि न्यूनतम १५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, चार लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार बीमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास तथा हेलिकोप्टर उद्दार बीमा गरिनुपर्ने व्यवस्थाअनुरूप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचुराहरूका लागि विशेष बीमा योजना ल्याएको हो ।
साविकमा पदयात्रा एजेन्सीहरूले महँगो शुल्कमा बीमालेख खरिद गर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो । हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वका बीच गत माघ १९ गतेका दिन कम्पनीका नायब कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरु शेर्पाले सार्वजनिक गरे । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागू हुनेछ ।