काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह गरेका छन् । मन्त्री पौडेलले एक सन्देश जारी गर्दै मन्त्रालयले बिहीबारबाट सुरु गरेको सो अभियान सफल पार्न सबैमा अपिल गरेका हुन् ।
नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै मन्त्री पौडेलले यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् । यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागितासहित अभियानरूपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेर निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए । ‘हामीले हाम्रा स्वास्थ्य संस्थाहरूमा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरू गरिरहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘साथसाथै निरोधात्मक विधिअन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।’
मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियानमा नेपालभित्र बसोबास गर्ने ३० वर्षभन्दामाथिका नागरिकहरूलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरूको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ । साथै, मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने जनाएको छ । देशभरका स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगहरूको निःशुल्क परीक्षणमार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तथा जटिलता देखिएमा उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्य साथ अभियान थालेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । अभियानबाट स्वास्थ्य नीति निर्माणमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।