काठमाडौँ । ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एक साता लामो भ्रमणका लागि उनी शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । भ्रमणको दौरान मन्त्री डा. राणाले ‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिनेछिन् ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भ्रमणका क्रममा मन्त्री डा. राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ शीर्षकमा सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने जानकारी दिए । साथै उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री र ओमानका अन्य सम्बन्धित मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
खाडी सहयोग परिषद् (जिसिसी) राष्ट्रहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग परराष्ट्र मन्त्री डा. राणाले भर्चुअल बैठक गर्नेछिन् । साथै मस्कटमा रहँदा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।