काठमाडौं । नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (एनसीसीए)को स्थापना भएको छ । यसले नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।
एनसीसीएको आधिकारिक घोषणा स्टेककहोल्डरहरूलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम हो । यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट, लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेसन, टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर र वर्ल्ड चाइल्ड क्यान्सर युकेलाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, बिरामी र परिवारलाई आवश्यक सहयोग तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्नेछ । एनसीसीएको उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा हरि प्रसाद मैनाली विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूको सहभागिता रहेको थियो ।
नेपालमा बाल क्यान्सर उपचारलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले सरकार, स्वास्थ्य संस्थाहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य आवश्यक रहेको बताउँदै एनसीसीएले सबै सरोकारवालाहरूलाई यस अभियानमा सामेल हुन आग्रह गरेको छ । नेपालमा १४ वर्षमुनिका बालबालिकाहरूको लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला यो एलायन्सले उपचारबाहेकका चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ ।