काठमाडौँ । नेपालबाट हुने निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को साता महिना (साउन–माघ)मा कुल निर्यात एक खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँबराबरको भएको छ । जुन गत आर्थिक वर्ष २०८०/८१को सोही अवधिको तुलनामा ४६ दशमलव ५० प्रतिशत धेरै हो । गत वर्ष साउनदेखि माघसम्म ८६ अर्ब ८३ करोड नौ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।
निर्यात प्रवर्द्धनको लागि वस्तु र देशगत विविधीकरण गर्ने, निर्यातयोग्य कृषिजन्य वस्तुहरूको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, स्वदेशमा उत्पादन प्रोत्साहन तथा वैकल्पिक वस्तुको प्रयोग गरी आयात व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । सरकारले मुलुकको व्यापारलाई प्राथमिकतामा राख्दै वाणिज्य नीति, २०८१ पनि कार्यान्वयनमा ल्याएको छ । वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवर्द्धन गर्दै आयातलाई निर्यातसँग अन्तरआबद्ध गरी व्यापार असन्तुलन कम गर्न, व्यापारजन्य पूर्वाधरको विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्न वाणिज्य नीति ल्याएको दाबी गरिएको छ । साथै व्यापार कूटनीति सुदृढ गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउन, आपूर्ति श्रृङ्खला सुदृढ गरी व्यापार लागत घटाउन र व्यापारमा अन्तरसम्बन्धित निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तर र संघ, प्रदेश र स्थानीय सहरको सहभागिता, समन्वय तथा साझेदारी बढाउने लक्ष्यसहित उक्त वाणिज्य नीति ल्याएको हो ।
सरकारले वाणिज्य नीति ल्याए पनि कार्यान्वयन गर्न नसक्ने आशंका छ । सरकारले यसअघि निर्यात व्यापारलाई फाइदा हुनेगरी नीति, नियम तथा रणनीति ल्याए पनि कार्यान्वयन गर्न नसक्दा नेपालको निर्यात व्यापार आयातको तुलनामा निकै कम हुनेगरेको छ । अर्थशास्त्री केशव आचार्यले सरकारले निर्यात बढाउनका लागि निर्यातजन्य सामग्री पहिचान गर्ने, लगानी वृद्धि गर्ने, विद्युतीय भुक्तानीलगायतका विभिन्न व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको बताए । आयातित कच्चापदार्थमा भर पर्दा पनि निर्यात व्यापार बढ्न नसकेको उनको भनाइ छ ।
निर्यातको तुलनामा आयात करिब आठ गुणा बढी भएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नौ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव शून्य नौ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । नेपालको वैदेशिक व्यापारलाई हेर्दा भान्सामा प्रयोग हुने सामग्रीदेखि लिएर महँगा सवारीसाधन, पेट्रोलियम पदार्थलगायतका अधिकांश सामग्रीहरू आयात गर्नुपर्ने अवस्थाका कारण उच्च आयात व्यापार देखिएको हो ।
भारत र चीनबाट उच्च आयातका कारण व्यापार बढेको देखिन्छ । भारतबाट विशेषगरी पेट्रोलियम पदार्थको आयात उच्च छ । यसको अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जा, सिमेन्ट, फलामे छड र औषधिका आयात पनि बढेको कारण भारतसँगको व्यापारघाटा पनि बढेको हो । तेस्रो देशहरूमा निकासी हुने दाल, चिया र हस्तकलाका सामानहरूको निर्यात पनि घट्न गएको छ । यी देशहरूबाट सुनचाँदी, पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा तामाको तारलगायत वस्तुहरू नेपालमा आयात बढ्दो रहेको विभागका निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार चीनबाट नेपालमा आयात हुने सामानहरूमा भने विद्युतीय सामग्री, विद्युतीय सवारीसा धान, तयारी पोशाक, जुताचप्पल, यातायातका पार्टपुर्जा र लसुन, स्याउलगायतका फलफूल रहेको छ जसले गर्दा चीनसँग व्यापारघाटा बढेको छ । अर्कोतर्फ नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरू भुइँचालोअगाडिका अवस्थामा जति पठाउन सकिएको थियो त्यति हालका वर्षहरूमा पठाउन सकिएको छैन ।
विभागका अनुसार उच्च आयात र न्यून निर्यातका कारण नेपालले तेस्रो मुलुकसँगको व्यापारमा घाटा व्यहोरको छ । चालू आर्थिक वर्षको सात महिनामा व्यापार घाटा आठ खर्ब ६१ अर्ब ३८ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तुलनामा यस वर्षको सोही अवधिमा छ दशमलव २० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रहेको थियो । साथै चालू आर्थिक वर्षको सात महिनामा कुल वैदेशिक व्यापार ११ खर्ब १५ अर्ब ७९ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तुलनामा यस वर्षको सोही अवधिमा १३ दशमलव ३० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा नौ खर्ब ८४ अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा आयातको हिस्सा ८८ दशमलव ६० प्रतिशत र निर्यातको हिस्सा ११ दशमलव ४० प्रतिशत रहेको छ ।
६० अर्बको पेट्रोलियम पदार्थ आयात
२०८१ साउनदेखि माघसम्म सबैभन्दा बढी पेट्रोलियम पदार्थ ६० अर्ब ६४ करोड रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थमध्ये डिजेल २९ अर्ब ४५ करोड रुपैयाँ, पेट्रोल २४ अर्ब ५८ करोड रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास छ अर्ब ६१ करोड रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा विद्युतीय सवारीसाधन पाँच अर्ब ५० करोड, फलामजन्य सामग्री चार अर्ब ७३ करोड रुपैयाँ, मोबाइल तीन अर्ब ५३ करोड, सूर्यमूखी दुई अर्ब २५ करोड र भटमास एक अर्ब ७६ करोडबराबरको आयात गरिएको छ ।
१९ अर्बको भटमासको तेल निर्यात
चालू आर्थिक वर्षको सात महिनाको अवअधिमा सबैभन्दा बढी क्रमशः भटमासको तेल, सूर्यमूखी तेल, अलैँचीलगायतका सामग्री निर्यात भएको छ । भटमासको तेल ३२ अर्ब ४१ करोड रुपैयाँ, सूर्यमूखी तेल छ अर्ब ५७ करोड, अलौँची पाँच अर्ब ३९ करोड रुपैयाँ, चिया तीन अर्ब १८ करोडको निर्यात भएको छ । साथै यार्न तीन अर्ब १३ करोड रुपैयाँ, फलाम तथा फलामजन्य सामग्री दुई अर्ब ९९ करोड र जुट दुई अर्ब ९० करोड रुपैयाँ र फेल्ट दुई अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको छ । साथै जुस, कपडा, सल र कुकुर बिरालोको खानाको पनि निर्यात उच्च रहेको छ ।