काठमाडौं । पोखरा विश्वविद्यालयका सात हजार बढी विद्यार्थी दीक्षित भएका छन् । बिहीबार आयोजित विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा सात हजार आठ सय ७२ जना विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालायका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न तह र विषयमा उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गराएका थिए ।
समारोहमा प्रधानमन्त्री ओलीले विद्यावारिधि अध्ययन सम्पन्न गरेका दुुई जना विद्यार्थीलाई कुलपति विद्यावारिधि पदक प्रदान गरे । यस्तै, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने २७ जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरेका थिए । दीक्षान्त समारोहमा शिक्षाविद् जोर्ज जोनले विश्वविद्यालयबाट प्राप्त शिक्षालाई समाज र राष्ट्रको योगदानमा उपयोग गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयका उत्पादनले आफूलाई समाजमा असल नागरिकका रूपमा उभ्याउन जरुरी रहेको उनको भनाइ थियो । असल, इमान्दार एवं जिम्मेवार नागरिकका रूपमा आफूलाई स्थापित गर्न आग्रह गर्दै उनले दीक्षित विद्यार्थीहरू नयाँ पुस्ताका लागि अनुकरणीय बन्नुपर्ने आवश्यकता औँल्याए ।
विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले पोखरा विश्वविद्यालयले अवलम्बन गरेको शिक्षा प्रणालीले केबल ज्ञान मात्र नभई सिर्जनात्मक सोच, समस्या समाधानको क्षमता र व्यावसायिक कौशलता पनि दिएको बताए । विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई समाज र राष्ट्रको समृद्धिमा प्रयोग गर्ने प्रेरणा जागृत होेस् भन्ने कामना गर्दै उनले दीक्षित विद्यार्थीहरूले प्राप्त गरेको ज्ञान, नवाचार र श्रमले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति मुलुक विकासका लागि अमूल्य स्रोत रहेको उनको भनाइ छ ।
नेपालमा बढ्दो विद्यार्थी पलायन र सीमित रोजगारीका अवसरलाई ध्यानमा राखी विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान र नवीन उद्यमशीलताको प्रवद्र्धन गर्दै स्वदेशमै उज्ज्वल भविष्य निर्माण गर्न विद्यार्थीलाई प्रेरित गरिरहेको उपकुलपति केसीले बताए । दक्ष जनशक्ति उत्पादन गरी उद्योग, प्रविधि, कृषि, पर्यटन तथा अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नु विश्वविद्यालयको प्राथमिकता रहेको उनले बताए । विश्वविद्यालयले व्यावहारिक शिक्षालाई प्रवद्र्धन गर्दै पाठ्यक्रमलाई उद्योग सम्बद्ध बनाउने, इन्टर्नसिप तथा परियोजना–आधारित सिकाइलाई जोड दिने र उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कार्यलाई अघि बढाइरहेको उनको भनाइ छ । यसका साथै साना तथा मझौला उद्यम स्थापनाका लागि आवश्यक ज्ञान, सिप र सहयोग प्रदान गर्दै विद्यार्थीलाई स्वरोजगारीतर्फ प्रेरित गरिएको उनले बताए ।
उपकुलपति केसीले आफूले प्राप्त गरेको ज्ञान, सिप र अनुभवको प्रयोग गरी नेपालको सामाजिक, आर्थिक, औद्योगिक, शैक्षिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान दिन सक्षम हुन विद्यार्थीहरूलाई सुझाव पनि दिए । विश्वविद्यालयले आङ्गिक, संयुक्त आंगिक र सम्बन्धन प्राप्त महाविद्यालयमार्फत मुलुकभर आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । आर्थिकरूपले विपन्न वर्गका करिब एक हजार छ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिसहित उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम विस्तार गर्दै आएको छ । हाल विश्वविद्यालयका ६५ महाविद्यालयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका कार्यक्रम सञ्चालन भइरहेका छन् । यस्तै, विश्वविद्यालयमा ६८ कार्यक्रममा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।