काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले आइतबारबाट जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीले यसअघि १० प्रतिशतका दरले हुन आउने दुई करोड २५ लाख रुपैयाँ बराबरको दुई लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने कर्मचारीहरूका लागि ६७ हजार पाँच सय कित्ता र सामूहिक लगानी कोषहरूलाई एक लाख १२ हजार पाँच सय कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आइतबारदेखि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले फागुन १५ गतेसम्म सेयर खरिदको लागि आवेदन दिन सक्ने र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा बिक्री अवधि फागुन २५ गतेसम्म लम्बिने छ । कम्पनीको साधारण सेयरको निष्कासन एवं बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।