काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । कम्पनीको अनुसार यो कार्यक्रम इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने नेपालकै पहिलो इभेन्ट हुनेछ ।
द एभरेस्ट होटलमा फागुन १५ देखि १८ गतेसम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनइभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ । यो इभेन्टले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नैपर्ने स्थल हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो इभेन्टमा बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसनलगायतका अत्याधुनिक प्रविधिको बारेमा जानकारी लिन सकिने छ ।
यस्तै, नेक्स्ट–जेन भेइकल सोकेस, लाइभ डेमो, एक्सपर्ट टक र प्यानल डिस्कसन, विशेष प्रोडक्ट सार्वजनिक र पारिवारिक क्रियाकलाप यस इभेन्टमा हुनेछन् । यो इभेन्टले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको जनाइएको छ । अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेटलगायत सबैका लागि सो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ, जहाँ मोबिलिटीको भविष्यबारेमा अध्ययन अन्वेषण गर्न सकिने कम्पनीको दाबी छ ।