विराटनगर । संखुवासभाको मकालु गाउँपालिका आज बुधबारदेखि मकालु प्लाटिनम जुबिली तथा दक्षिण एसियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा महोत्सवको आयोजना गरिएको हो ।
मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएको छ । फागुन १७ गतेसम्म मकालु गाउँपालिकाको नुम बजारमा सो महोत्सव आयोजना गरिएको मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए । महोत्सवले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने उनले बताए । महोत्सवले मकालु, शिवधारा र वणुगोत्री त्रिआयामिक धाार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
पहिलोपटक हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहित्यिक विकाससँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको स्टल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका कार्यक्रम रहेको छ । विश्वको पाँचौं अग्लो हिमाल मकालुको उचाइ आठ हजार चार सय ६३ मिटर रहेको छ । सो हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको अवसरमा चार दिने महोत्सव हुन लागेको हो ।