जाकार्ता । इन्डोनेसियाको आचे राज्यमा समलिङ्गी सम्बन्ध राखेको आरोपमा बिहीबार दुई पुरुषलाई सार्वजनिकरूपमा कोर्रा लगाइएको छ । इस्लामिक कानुनअन्तर्गत सञ्चालित अदालतले उनीहरूलाई यौन सम्बन्धको दोषी ठहर गरेको थियो ।
दुवै अभियुक्त स्थानीय विश्वविद्यालयका विद्यार्थी हुन् । गत वर्ष नोभेम्बरमा भाडाको कोठामा यौनसम्पर्क गरिरहेको अवस्थामा उनीहरूलाई मानिसहरूले समातेका थिए । यसपछि, दुवैलाई शरिया प्रहरीलाई बुझाइएको थियो ।
समाचार माध्यमकाअनुसार दुवै अभियुक्तहरूलाई आचे राज्यको राजधानी बान्डा आचेको पार्कमा सार्वजनिकरूपमा कोर्रा लगाइएको थियो । यसमा, सम्बन्ध सुरु गर्ने व्यक्तिलाई ८२ कोर्रा र अर्कोलाई ७७ कोर्रा लगाइएको थियो ।
यस घटनालाई एम्नेस्टी इन्टरनेसनलले घृणा अपराध भनेको छ । यी व्यक्तिहरू तीन महिनासम्म हिरासतमा थिए, त्यसैले उनीहरूको सजाय तीन कोर्राले घटाइयो । इन्डोनेसियाका अन्य राज्यहरू भन्दा फरक, आचेमा समलिङ्गी सम्बन्ध गैरकानुनी छ । जहाँ इस्लामिक कानुन शरिया लागू हुन्छ ।
मानव अधिकारकर्मीहरूले सजायको विरोध गर्दै यसलाई समलिङ्गी समुदायविरुद्धको भेदभाव भनेका छन् । एम्नेस्टी इन्टरनेशनलले उक्त सजायलाई घृणा अपराध भनेको छ । अनलाइन जुवा खेलेको आरोपमा बिहीबार एउटै पार्कमा दुई जना पुरुषलाई क्रमशः ३४ पटक र आठ पटक कोर्रा लगाइएको थियो ।