अमेरिका, साउन ९
अमेरिका र हङकङको सेयर बजारमा आफ्नो कम्पनीको सेयर ह्वात्तै बढेपछि तीन चिनियाँ अर्बपतिहरुले अर्बौँ मूल्यको सेयर बिक्री गरेको खुलेको छ । अलिबाबाका ज्याक मा, पिन्डुओडुओका कोलिन हुआङ र टेन्सेन्टका मा हुआटेंगले यस्तो फाइदा उठाएको चर्चित म्यागजिन फोब्र्सले जनाएको छ ।
अमेरिका र हङकङमा सेयरबजारमा उछाल आउँदा अर्बपतिहरु सेयर बिक्री वा हस्तान्तरणमा सक्रिय भएका हुन् । अघिल्लो वर्षमात्रै अलिबाबाको कार्यकारी प्रमुख छाडेका माले कम्पनीको ६ प्रतिशत सेयरलाई बिक्रीपछि घटाएर ४.८ प्रतिशतमा झारेका छन् । हङकङमा नोभेम्बरमा भएको कम्पनीको सेकेन्डरी लिस्टिङमा उनको सेयर स्वामित्व ६ प्रतिशत थियो । ४८ अर्ब ८० करोड डलर सम्पत्ति रहेका उनी चीनका दोस्रो धनाढ्य हुन् । तर अलिबाबाले कति सेयर बेचे भन्ने खुलाएको छैन ।
अलिबाबा न्युयोर्कमा पनि सूचीकृत कम्पनी हो । नोभेम्बरमा ६ प्रतिशत स्वामित्व रहेको कम्पनीले बताएयता अलिबाबाको सेयर ४१ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । उनले करिब ५ अर्ब डलरको सेयर बेचेको फोब्र्सले बताएको छ । अलिबाबाकै कार्यकारी उपप्रमुख जोसेफ त्साईले पनि १ अर्ब ४० करोड डलरको सेयर बेचेर १.९ प्रतिशत स्वामित्व १.६ प्रतिशतमा झारेका छन् । ताइवानमा जन्मिएका उनीसँग १२ अर्ब ९० करोड डलर सम्पत्ति रहेको अनुमान छ । उनी हङकङ बस्दै आएका छन् ।
त्यस्तै शपिङ प्लेटफर्म पिन्डुओडुओले पनि आफ्ना संस्थापक कोलिन हुआङले पनि सोही समयमा अमेरिकी नास्डाकमा सूचीकृत सेयर हस्तान्तरण गरेको जनाएको छ । उनले कम्पनीको ४४.३ प्रतिशतबाट २९.४ प्रतिशत स्वामित्वमा झारेका छन् । त्यस्तै टेन्सेन्टका माले ५५ करोड डलरको सेयर हङकङ लिस्टिङबाट जुनमा र अर्को २६ करोड डलरको सेयर जनवरीमा हस्तान्तरण गरेका छन् ।
मा अहिले चीनकै ठूला अर्बपति हुन् । उनीसँग ६१ अर्ब ८० करोड डलर सम्पत्ति छ । पिन्डुओडुओको नास्डाकमा सूचीकृत सेयर करिब दोब्बरले बढेको थियो । त्यस्तै यो वर्ष अलिबाबाको सेयर एनवाईएसईमा १६ प्रतिशतले बढेको थियो । यता हङकङमा टेन्सेन्टको सेयर पनि यो वर्ष ४५ प्रतिशतले बढेको छ ।