हाम्रो देश नेपालको (तीनतिर) पूर्व–दक्षिण–पश्चिम सीमा जोडिएको छिमेकी देश भारतका नागरिकहरू धेरै वर्षअघिदेखि नेपालमा ठूलो संख्यामा पर्यटकको रूपमा आउने गरेका छन् । भारतीय नागरिकहरू वर्षेनि धेरै संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकका रूपमा दरिने गरेका छन् भने अलिक अगाडि (सन् २०१९) सम्म दोस्रो नम्बरको संख्यामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको स्थान चिनियाँ नागरिकहरूले लिने गरेको थिए । तर, सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट फैलन सुरु भएकोे कोरोना महामारी (कोभिड–१९) पछि चिनियाँ पर्यटकको संख्या लगातार घट्दै गयो । कतिसम्म भनेदेखि सन् २०२० मा चौथो, सन् २०२१ मा चौथो, सन् २०२२ मा छैठौं र सन् २०२३ मा चाहिँ तेस्रो स्थानमा र सन् २०२४ मा भने एक लाख ११ हजार १२६ जना चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । यसरी चार वर्षपछि चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको दोस्रो स्थान लिन सफल भएको छ ।
तर, चिनियाँ पर्यटकको कुरो गर्दा सर्वसाधारण चिनियाँ नागरिकहरूलाई चीन सरकारले सन् २००३ देखि मात्रै नेपालमा पर्यटक भएर आउने अनुमति दिन थालेको हो । तथापि, चिनियाँ नागरिकहरूले नेपालमा पर्यटकका रूपमा आउन थालेको छोटो समयमा नै नेपाल आउने विदेशी पर्यटकको संख्यामा दोस्रो स्थान लिन थालेका थिए । भनाइको मतलब चिनियाँ पर्यटक नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको दोस्रो ठूलो संख्या हुन थालेको हो । हुन पनि सन् २००३ अर्थात् पहिलो वर्ष सात हजार ५६२ जना चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता कोरोना महामारी (कोभिड–१९) सुरु नभएसम्म चिनियाँ पर्यटकको संख्या लगातार रूपमा बढीरहेको थियो ।
यो लेखको शीर्षक ‘भारतीय पर्यटकः किन कम, बढाउन के गर्ने ?’ भन्ने रहेकोले यो लेखलाई त्यसैतर्फ फोकस गरौँ । हालै आएको एक तथ्याङ्कअनुसार पछिल्लो पटक भारतीयहरू ठूलोे संख्यामा पर्यटक भई युरोप, अस्टे«लिया, अफ्रिका, मध्यपूर्व, दक्षिण तथा उत्तर अमेरिका भ्रमणमा निक्लन थालेका छन् । जस्तो कि यहाँ युरोपको एक देश जर्मनीको उदाहण लिउँ । जुन देशमा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या सन् २०२१ को तुलनामा सन् २०२३ मा ३०५ प्रतिशतले बढेको थियो । इकोनोमिक्स टाइम्सको ट्राभलसम्बन्धी लेख÷फिचर÷समाचारअनुसार ‘ट्राभल वल्र्ड्स’मा प्रकाशित एक समाचारअनुसार जर्मनीमा सन् २०२१ को तुलनामा सन् २०२२ मा २०५ प्रतिशतले भारतीय पर्यटक आगमन वृद्धि भएको थियो । जर्मन ट्राभल मार्ट (जीटीएम) र जर्मन नेसनल टुरिज्म बोेर्ड (जेएनटीबी) का अनुसार सन् २०२२ मा छ लाख (६,०००००) भारतीय पर्यटकहरू जर्मनीको भ्रमण गर्न गएका थिए ।
फेरि पनि भन्नुपर्दा लामो समयदेखि नेपाल आउने विदेशी पर्यटकको संख्या सबैभन्दा धेरै भारतीय नै रहेका छन् । मतलब अहिलेसम्म भारतीय पर्यटकलाई अरू देशका पर्यटकहरूले संख्यात्मक हिसाबले जित्न सकेका छैनन् र सम्भवतः अरू केही वर्ष (एक दशक ?) सम्म नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको पहिलो नम्बरमा भारतय नागरिकहरू नै रहने छन् । किनभने उनीहरूलाई नेपाल भ्रमण गर्न भिसा शुल्क पनि लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिन, ३० दिन र ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ, नेपाल सरकारले । त्यसो भए पनि केही वर्ष वा एक दशकपछि नेपाल आउने विदेशी पर्यटकको ठूलो संख्या उत्तरको छिमेकी देश चीन हुने पक्काजस्तै देखिन्छ । त्यसको सकारात्मक संकेत भने चाहिँ चिनियाँ पर्यटकहरू विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने पर्यटकका रूपमा) को रूपमा विदेश घुमिरहेका थिए । अझै पनि घुमिरहेका छन् । तर, त्यसरी विश्वकै सबैभन्दा धेरै दैनिक खर्च गरिरहेका त्यही चिनियाँ पर्यटकहरू नेपालमा चाहिँ किन कम संख्यामा आउँछन् त ? अथवा भनौँ चिनियाँ पर्यटकहरूले नेपाल भ्रमणमा आउँदाचाहिँ किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोचविचार गर्नुपर्ने देखिन्छ । अझ त्यसमा पनि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका मात्रै आउने गरेका थिए÷आउने गरेका छन् ।
जे होस्, फेरि पनि भारतीय पर्यटककै कुरो गर्नु पर्दाखेरि आफ्नो भूगोलको आधा भाग एसिया महादेश र आधा भूगोल भाग युरोप महादेशमा पर्ने भए पनि आफूलाई आधिकारिकरूपमा युरोप महादेशको देश मान्ने–ठान्ने ‘तुर्किए÷टुर्किए’ (टर्की पुरानो नाम) मा भ्रमण गर्ने भारतीय पर्यटकहरूको संख्या सन् २०२४ मा बीस दशमलव सात (२० दशमलव सात) प्रतिशतले बढेको थियो । यता एसिया महादेशको सानो देश सिंंगापुरमा पनि सन् २०२४ मा विदेशी पर्यटक आगमनको संख्यामा भारतीय पर्यटकहरूको संख्या तेस्रो धेरै संख्या बन्न पुगेको थियो । इकोनोमिक्स टाइम्सले प्रकाशित गर्ने ‘ट्राभल वल्र्डस’ र सिंगापुर टुरिज्म बोर्ड (एसटीबी) ले जनाएअनुसार सिंंगापुरमा सन् २०२४ मा भ्रमण गर्ने भारतीय पर्यटकको संख्या १२ लाख रहेको थियो । त्यसैगरी सन् २०२४ मा सिंगापुर भ्रमण दोस्रो धेरै पर्यटक चाहिँ इन्डोनेसियन रहेका थिए । सन् २०२४ मा २४ लाख ९० हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेको थिए भने, सन् २०२४ मा ३० लाख ८० हजार चिनियाँ पर्यटकहरू सिंगापुर भ्रमण गर्न गएर पहिलो स्थान बनाउन सफल भएका थिए ।
तर, नेपाल भ्रमण गर्न आउने भारतीय पर्यटकको संख्याचाहिँ सन् २०२३ को तुलनामा सन् २०२४ मा शून्य दशमलव सात (शून्य दशमलव सात) प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०२३ मा तीन लाख १९ हजार ९३६ जना भारतीय पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए भने सन् २०२४ मा चाहिँ तीन लाख १७ हजार ७७२ जना भारतीय पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । त्यसो त सन् २०२४ मा भारतीय पर्यटक बोकेको बस दुर्घटना नभएको भए अनि बाढी–पहिरोका कारण सडक यातायात .(बाटाघाटा)मा लामो समयसम्म अवरोध नआएको भए एवं प्रकारले हवाईजहाज तथा हेलिकोप्टर दुर्घटनाहरू नभएको भएदेखि २०२४ मा शून्य दशमलव सात (शून्य दशमलव सात) प्रतिशतले घट्नुको सट्टा कम्तीमा ८–९–१० प्रतिशतले बढ्ने थियोभन्दा केही फरक नपर्ने देखिन्छ ।
त्यसैले हामीले अब अरू देशहरूका पर्यटकका साथै भारतीेय पर्यटकहरूलाई सक्दो धेरैभन्दा धेरै संख्यामा भित्र्याउने प्रयास गर्नुपर्ने देखिन्छ । त्यसमा पनि अलिक बढी खर्चिला खालका भारतीेय पर्यटकलाई नेपाल भित्र्याउनका लागि हामीले पहल कदमी लिनुपर्ने देखिन्छ । हुन पनि भगौलिक दूरीका हिसाबले हेर्दाखेरि हजारौँ किलोमिटर टाढाका युरोप महादेश, उत्तर अमेरिका महादेश, दक्षिण अमेरिका महादेश, अफ्रिका महादेश एवं धेरथोर संख्यामा अन्टार्कटिकातिर पनि भ्रमण गर्न जान आकर्षित भइरहेका छिमेकी देश (भारत) का पर्यटकहरूलाई कसरी नेपाल वार्षिक ८–९ लाखदेखि ११–१२ लाखको संख्यामा भित्र्याउने ? सो सम्बन्धमा हामीले बेला छँदै सोच्ने र आकर्षक कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । किनभने, अबका दिनमा उत्तरी छिमेकी देश चीनपछि विस्तारै हाम्रो देशको तीनतिर सिमाना भएको छिमेकी देश (भारत) का पर्यटकहरू नै विश्व भ्रमणमा निक्लने पर्यटक हुने देखिन्छ । यो कुरोलाई बेलैमा मनन् गरेरै हुनुपर्छ, विश्वका केही देशले त भारतीय पर्यटकहरूलाई लक्षित गरेर दीर्घकालीन योजना र तत्कालीन कार्यक्रम ल्याउन थालेका छन् । हामी नेपालीहरू चाहिँ किन ढिला गरेर र बस्ने ?