काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलोपटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतीहरूको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ । ग्लोबल आइएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको छ । डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नवीनतम धारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगितामा सहभागिता हुन इच्छुकहरूले बैंकको वेवसाइटमार्फत दर्ता गर्नुपर्ने छ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । पहिलो चरणको लागि प्रतियोगिहरूले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुति गर्नुपर्नेछ । साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५५ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, दुई सय ३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।