दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताएका छन् । तनहुँको डुम्रेमा बुधबार डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे । नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शुन्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा मन्त्री खड्काले भने, “विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।”