काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईँको विषयलाई लिएर काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) नैतिक सङ्कटमा परेका छन् । पुरानो बसपार्कमा निर्माणाधीन भ्यू टावर निर्माणको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गरागाईँविरुद्ध छानबिन समिति गठन गरेका थिए ।
समितिले गुरागाईँमाथिको आरोप पुष्टि गर्न नसकेपछि उनीमाथि मेयर शाहले गरेका सबै हर्कत अवैध मात्र भएन उक्त नक्सा पासमा मेयर शाहकै हात रहेको देखिएको छ । आफूले गरेको गलत कामको आरोप प्रमुख प्रशासकीय अधिकृत गुरागाईँतर्फ देखाउँदा बालेन नैतिक सङ्कटमा परेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँविरुद्धको आरोप पुष्टि भएको प्रमाण मन्त्रालयलाई दिन नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै उनलाई काम गर्न सहजीकरण गरिदिन भनेको छ ।
बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको काठमाडौं महानगरपालिकाको कार्यकक्षमा प्रवेश गर्न नदिई गत पुस ८ गतेदेखि हाजिर गर्न दिएका थिएनन् । आफ्नोविरुद्ध छानबिन गर्न गठन भएको समितिको म्याद मेयर बालेनले थप नगरी प्रतिवेदन पनि नबुझेपछि गुरागाईँले मन्त्रालयमा निवेदन दिँदै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
मेयर बालेनले काठमाडौं महानगरमा विभिन्न विकास निर्माणका कामको ठेक्का पनि अपारदर्शी तरिकाले दिन थालेपछि त्यहाँ जाने हरेक प्रमुख प्रशासकीय अधिकृतले विरोध गर्दै आएका छन् । मेयर बालेनले एक जना प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै अर्को पठाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा स्टाटस लेख्दै बसेका छन् ।
केही नयाँ काम गर्दै छ भनेर प्रचार गराइरहेका मेयर बालेनले आफैँले नक्सापास गर्न तोक आदेश गर्ने र पछि आफूले होइन भन्न थालेपछि उनी कामभन्दा कुरा बढी गर्छन् भन्ने देखिएको छ । मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाउने अडान लिँदै गुरागाईँलाई नै काम गर्न दिन भनेपछि मेयर बालेनले अब के गर्छन् भन्नेबारेमा सबैको चासो देखिएको छ । मेयर शाहले जे गरे पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँको विषयमा भने उनी झुट देखिएका छन् ।