बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च व्यापार शुल्कको प्रतिकार गरेपछि चीनले अमेरिकालाई कुनै पनि प्रकारको युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । ट्रम्पले अमेरिका आयात हुने सबै चिनियाँ सामानमा थप कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्रहरुबीच व्यापार युद्ध सुरु भएकोे छ ।
ट्रम्पल चिनियाँ सामग्रीमा कर बढाएपछि चीनले पनि अमेरिकी कृषि उत्पादनहरुको आयातमा १० देखि १५ प्रतिशत थप कर लगाएर जवाफी प्रतिक्रिया दिएको छ ।
चिनियाँ दूतावासले मंगलबार सरकारी विज्ञप्तिको एक लाइन सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘यदि अमेरिकाले युद्ध चाहन्छ भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस वा अन्य कुनै पनि प्रकारको युद्ध होस्, हामी अन्त्यसम्म लड्न तयार छौँ ।’
ट्रम्प राष्ट्रपति बनेपछि चीनबाट यो अहिलेसम्मकै सबैभन्दा कडा अभिव्यक्ति हो र वार्षिक राष्ट्रिय जनकांग्रेसको लागि बेइजिङमा नेताहरु भेला हुँदा आएको हो ।
बुधबार, चीनका प्रधानमन्त्री ली छियाङले यस वर्ष आफ्नो रक्षा खर्च सात दशमलव दुई प्रतिशतले बढाउने घोषणा गरेका थिए । छियाङले एक शताब्दीमा नदेखिएका परिवर्तनहरु विश्वभर द्रुत गतिमा प्रकट भइरहेको र अमेरिकाले गरेको कर वृद्धि अपेक्षित रहेको बताएका छन् ।
बढ्दो ‘अनिश्चितता’को सामना गर्दै चिनियाँ अर्थतन्त्र
चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताएका छन् । संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापार युद्धले निर्यातमा असर पारेकाले बेइजिङले बुधबार पाँच प्रतिशतको हाराहारीमा वार्षिक वृद्धिको महत्वाकांक्षी वार्षिक वृद्धिको लक्ष्य राखेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चिनियाँ आयातमा थप कर वृद्धि गरेका छन् । ट्रम्पले आफ्नो शपथग्रहण समारोहमा जनाएको प्रतिबद्धताअनुसार कर वृद्धि हुने बताएका हुन् ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शान्जीले एक पत्रकार सम्मेलनमा भने, ‘चीनले यो वर्ष आफ्नो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छ भन्नेमा उसलाई पूर्ण विश्वास छ ।’
‘हामीसँग यस वर्षको पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने आधारभूत समर्थन र सुनिश्चितता छ’, झेङले भने । बेइजिङको वार्षिक दुई सत्रको राजनीतिक बैठकका क्रममा बोल्दै झेङले ‘बाह्य वातावरणमा अनिश्चितता झन् बढ्दै गएको’ स्वीकार गरेका हुन् । उनले भने, ‘केही उद्योग र केही उद्यममा अपर्याप्त आन्तरिक माग, उत्पादन र सञ्चालनको कठिनाइजस्ता केही समस्या पनि हामीले सामना गरिरहेका छौँ ।’
प्रधानमन्त्री ली कियाङले बुधबार कम्युनिस्ट पार्टीको वार्षिक सम्मेलनमा घोषणा गरेको चीनको महत्वपूर्ण वृद्धिको आँकडा व्यापकरूपमा विश्लेषकहरूको एएफपी सर्वेक्षणसँग मिल्दोजुल्दो थियो, यद्यपि विशेषज्ञहरूले चीनको आर्थिक चुनौतीहरूको परिमाणलाई ध्यानमा राख्दै यो महत्वाकांक्षी रहेको बताएका छन् ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको यो अर्थतन्त्रले कोभिड–१९ को महामारीपछि आफ्नो स्थान पुनः प्राप्त गर्न सङ्घर्ष गरिरहेको छ, घरेलु उपभोग र विशाल सम्पत्ति क्षेत्रमा निरन्तर ऋण सफ्ट जारी छ ।