काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच सो कम्पनीले मुस्ताङ तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने एक सय ८० मेवा क्षमताको कालीगण्डकी गर्ज जलविद्युत्् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । सो आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाले फागुन २७, २०७५ मा विद्युत् विकास विभागबाट विद्युत्् उत्पादनको अनुमति लिनुका साथै फागुन १७, २०७९ मा नेपाल विद्युत्् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् ।
सो परियोजना निर्माणका लागि लक्ष्मी सन्राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता नौ अर्ब रुपैयाँ रहेको छ भने सह–अगुवा बैंकहरूको रूपमा रहेका ग्लोबल आईएमई बैंकको सात अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको पाँच अर्ब रहेको छ । अन्य सहभागी बैंकहरू हिमालयन बैंकको तीन अर्ब, नेपाल एसबीआई बैंकको तीन अर्ब र एभरेस्ट बैंकको दुई अर्ब ५० करोड समेत गरी कुल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठूलो स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकको रूपमा रहने छ ।