गणतन्त्र अर्थात् एउटा नागरिकभन्दा कोही पनि ठूलो नहुने व्यवस्था भएका गणतान्त्रिक संविधानको दुई दशक पुग्ने बेला हुन लाग्यो । तर यता तिनै नागरिक भीभीआईपीको सवारीका नाममा सडकमा हिँडडुल गर्न समेत रोकिइरहेका छन् । भीभीआईपीको भ्रमणमा स्थलमार्ग मात्र होइन आकाश मार्ग पनि रोकिने नै गरेको छ । पछिल्लो समय प्रधानमन्त्री कर्णाली प्रदेशसभालाई सम्बोधन गर्न जाँदा सडकमा हिँड्ने सर्वसाधारणमाथि लगाइएका प्रतिबन्धले एउटा ठूलो हलचल ल्यायो प्रदेशसभाको सम्बोधनसँगै प्रधानमन्त्री मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम थियो । त्यही क्रममा उनी सुर्खेत पुग्दा जसरी व्यस्त सडक नै खाली गराइयो यो निकै दर्दनाक थियो । जसले प्रधानमन्त्रीलाई समेत बदनाम गरायो । सडकमा हिँड्न नपाएपछि प्रधानमन्त्रीविरुद्धको मुर्दावादका नाराहरू त्यसका उदाहरण हुन् । त्यसक्रममा सर्वसाधारणले यो कष्टको सेयरिङ गर्दै थिए साथीहरू प्रधानमन्त्री आउँदा दैलेखीचोकमा यसरी बाटो नै ब्लक गरेर जनतालाई सास्ती दिइएको छ, गाडीको जाम छ, ओलीको सवारी हुँदैछ छ रे । कतिखरेसम्म व्यहोर्नुपर्ने हो यस्तो सास्ती ?
जब बाटो रोकियो त्यसपछि हर्न बजाएर विरोध गरेका थिए । प्रधानमन्त्रीको स्वागत हुनपर्ने ठाउँमा यसरी विरोध हुनु निश्चय नै राम्रो होइन । पहिले पनि यस्तै हुने गरेको थियो । अघिल्ला राष्ट्रपतिहरू यही कारण धेरै बदनाम पनि भएका थिए । बहालवाला राष्ट्रपतिले यसलाई बदल्दा प्रशंसा पनि पाएका थिए । अदालतले समेत बाटो नरोक्नु भनेर आदेश दिइसकेको अवस्थामा फेरि यता भने त्यही कुरा दोहोरिरहेको पाइन्छ । भीभीआईपी सवारीका लागि अदालतले आफ्नो ८ फागुन ०८० को फैसलामा भनेको छ । विशिष्ट व्यक्तिको यात्रामा सडक अवरुद्ध गर्नैपर्ने अवस्था आएमा सर्वसाधारणलाई पूर्वसूचना दिएर एकतर्फी सडकमा मात्रै यात्रा प्रबन्ध गर्नुपर्छ । विशिष्ट व्यक्तिको यात्रा तथा कार्यक्रम तय गरिँदा सकेसम्म कम मात्रामा सर्वसाधारण प्रभावित हुने गरी गर्न र विशिष्ट व्यक्तिको सवारीका क्रममा कमभन्दा कम क्षेत्रमा मात्र सडक खाली गराउने, कम भिडभाड हुने वैकल्पिक मार्ग प्रयोग गर्ने, सवारी चाप तथा भिडभाड कम हुने समयमा सवारीको प्रबन्ध गर्न र सडक अवरुद्ध गर्नैपर्ने अवस्था आएमा सर्वसाधारणलाई पूर्वसूचना दिई एकतर्फीरूपमा सडकमा यात्रा प्रबन्ध गर्नेलगायतका वैकल्पिक उपाय अवलम्बन गर्न सकिन्छ । विशिष्ट व्यक्तिको आवागमनमा सुरक्षा व्यवस्थापन गर्दा सर्वसाधारणको हित र अत्यावश्यक सेवा सञ्चालनमा बाधा नपुग्ने गरी गर्नू ।
देशमा गणतन्त्र स्थापना भएको डेढ दशक बढी भइसकेको छ । राजतन्त्रलाई फाल्ने जनता नेताहरूबाट पीडित हुनुहुँदैन । एकजना प्राध्यापकका अनुसार जनता हिजोको अवस्थामा छैनन्, धेरै सचेत भइसके, सडक अवरोध गरेर सवारी चलाउँदा सरकारले राम्रो काम गर्नसकेको छैन, नागरिकलाई दुःख मात्र दिइरहेको हो कि भन्ने भाष्य बन्न सक्छ, अझ सर्वोच्च अदालतले नै आदेश दिएको अवस्थामा त सरकारको नेतृत्व गर्ने व्यक्तिले पालना गर्नका लागि मनन् गर्नुपर्ने हो । वास्तवमा यस्ता गुनासा र प्रश्न उठेपछि नेतृत्वकर्ताले त्यसको जवाफ दिनुपर्छ । अहिलेका प्रधानमन्त्री सिलसिलेवर रुपले नै जनआक्रोशमा पर्दै आएका छन् । केही दिनअघि मात्र काठमाडौंको दशरथ रंगशालामा उनको हुटिङ भयो । त्यसअघि पनि सार्वजनिक ठाउँमा पटकपटक यस्तो हुँदै आएको छ । पशुपतिनाथको मन्दिर जाँदा समेत प्रधानमन्त्रीको विरोध हुन्छ भनेर दर्जनौं संख्यामा मान्छे समातियो । किन यसरी विरोध भइरहेको छ भन्ने मूल कारण खोजौँ । केवल विरोधीहरूलाई गाली गरेर मात्र अब स्थिति साम्य नहुन सक्छ । जनताको बाटो थुनेर गरिने भाषणमा जतिसुकै जनताको दुहाइ दिए पनि त्यसको अर्थ रहँदैन । समय छँदै हेक्का रहोस् ।