वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिएको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए भने उनको प्रशासनलाई विदेशमा खर्चको मूल्याङ्न गर्न समय दिनको लागि सबै अमेरिकी वैदेशिक सहायता रोक्न माग गरिएको थियो ।
‘छ हप्ताको समीक्षा पछि, हामी आधिकारिकरूपमा यूएसएआईडीका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दैछौँ’, रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरेका छन् ।
‘अहिले रद्द गरिएका पाँच हजार दुई सय सम्झौतामा अरबौँ डलर खर्च गरिएको थियो, जुन संयुक्त राज्यको मूल राष्ट्रिय हितहरूसँग मेल खाँदैन र केही अवस्थामा हानि पनि पु¥याएको थियो’, रुबियोले भनेका छन् ।
अमेरिकी सहायता एजेन्सी यूएसएआईडीले विश्वभर अमेरिकी मानवीय सहायता प्रदान गर्दै आएको थियो । लगभग एक सय २० देशहरूमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो ।
रुबियोले सोमबार विशेषगरी सरकारी विभागहरूमा लागत कटौती र रोजगार कटौती गर्ने अभियानमा अरबपति एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डीओजीई) लाई धन्यवाद दिएका छन् । ट्रम्प र उनका सहयोगीहरूले विदेशी सहयोग बेकार भएको र अमेरिकी हितमा नरहेको तर्क गरेका छन् । साथै, सहायता कटौतीले कमजोर मानिसहरूको जीवन जोखिममा पार्नसक्ने सहायता समूहहरूले तर्क गरेका छन् ।