हेटौँडा, बागमती प्रदेश सरकारले किसानलाई व्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब रूपैयाँ र आगामी आर्थिक वर्षमा १६ अर्ब रूपैयाँ ऋण लगानी गर्ने तयारी गरेको हो ।बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि व्याज अनुदानमा ऋण उपलब्ध गराउने जानकारी दिए । प्रदेशमा तीन लाख ३१ हजार किसान रहेको र उनीहरूलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाले व्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको उनको भनाइ छ ।
किसानलाई ऋण उपलब्ध गराउँदा स्थानीय तहसँग समन्वय गरिने उनले बताए । उनका अनुसार किसान परिचयपत्र, वर्गीकरण र उत्पादनको आधारमा प्रदेश सरकारले नीति बनाएर विभिन्न प्रोत्साहन कार्यक्रमका साथै प्रदेशमा ‘स्मार्ट फार्म’ निर्माण गरिनेछ । ‘श्रम र उत्पादनलाई जोडेर कोष स्थापना गरी योगदानका आधारमा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्छ, यसको तयारी हामी गर्दैछौं’, उनले भने ।माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाका कार्यालय प्रमुख डा जनार्दन खड्काले माटो परीक्षणका क्रममा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, वर्षाको पानी, माटो चट्टान बन्ने प्रक्रिया र मानवीय क्रियाकलापका कारण माटोमा अम्लीयपन बढ्दै गएको जानकारी दिए ।
काठमाडौं उपत्यकासहित व्यावसायिक तरकारीखेती हुने जिल्ला काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको मात्रा बढी पाइएको उनले बताए । प्रदेशमा तीन लाख २८ हजार दुई सय ९७ हेक्टर अर्थात् १६ दशमलव १७ प्रतिशत जमिन खेतीयोग्य छ । जसमध्ये दुई लाख ८९ हजार ६६२ हेक्टरमा खेती गरिएको छ । राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ्कअनुसार प्रदेशका अधिकांश किसानले माटो परीक्षण नगराएको देखिन्छ ।