काठमाडौं । भारतको कुरियर तथा लजिस्टिक्स कम्पनी डीटीडीसीले नेपालमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
नेपालमा सेवा विस्तारको लागी कम्पनीले नेपाली लजिस्टिक्स कम्पनी युनिभर्सल एक्सप्रेस प्रालिसँग साझेदारी गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सम्झौता गरेको हो । सो कार्यक्रममा डीटीडीसी अस्ट्रेलियाका वरिष्ठ प्रतिनिधि पिनाकी चटर्जी रहेका थिए । उनले नेपालमा डीटीडीसीको विस्तारलाई विश्वव्यापी लजिस्टिक्स सञ्जाललाई अझ सशक्त बनाउने महत्वपूर्ण कदमको रूपमा रहेको बताए । उनले युनिभर्सल एक्सप्रेससँगको साझेदारीले कम्पनीलाई विश्वभर कुरियर तथा ढुवानी सेवा विस्तार गर्न मद्दत गर्ने बताए । ‘हामी अन्तर्राष्ट्रिय ढुवानी, ई–कमर्स लजिस्टिक्स र अन्तिम–माइल डेलिभरी सेवामा नयाँ उचाइ कायम गर्न चाहन्छौं’, उनले भने ।
यस साझेदारीमार्फत डेलिभरी समय छोट्याउने, ट्रयाकिङ प्रणाली सुधार गर्ने र नेपाल हुँदै विश्वका विभिन्न मुलुकहरूमा ढुवानी प्रक्रिया सहज बनाउने लक्ष्य राखिएको छ । नेपालमा मजबुत सञ्जाल भएको युनिभर्सल एक्सप्रेसले डीटीडीसीलाई विश्वव्यापी सञ्जाल विस्तार गर्न, सेवा गुणस्तर सुधार गर्न र अन्तर्राष्ट्रिय ढुवानीलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । डीटीडीसीको नेपाल प्रवेशले विश्वव्यापी कुरियर तथा लजिस्टिक्स क्षेत्रमा नयाँ तरंग ल्याउने बताउँदै अन्य सेवा प्रदायकलाई पनि सेवा सुधार गर्न प्रेरित गर्ने जनाइएको छ । साझेदारीले व्यवसाय, ई–कमर्स प्लेटफर्महरू र व्यक्तिगत ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा उपलब्ध गराउनेछ । नेपाल हुँदै विश्वव्यापी व्यापार तथा ढुवानी सेवालाई विस्तार गर्ने डीटीडीसीको यो रणनीतिक कदम लजिस्टिक्स क्षेत्रमा नयाँ युगको सुरुवात हुने डीटीडीसीका नेपालका कार्यकारी प्रमुख किरण श्रेष्ठले बताए ।