काठमाडौं । सरकारले माल्दिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन लागि तयारीस्वरूप संयुक्त समिति गठन गरेका छन् । गत असोज पहिलो साता इन्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलिलबीच त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो । माल्दिभ्सले नेपालले वातावरण बनाएमा विद्यार्थी अध्ययन गर्न पठाउने बताएपछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवर्द्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।
सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आशयको प्रतिवेदन दिएको थियो । सोही आधारमा माल्दिभ्ससँग द्विपक्षीय सम्झौता गर्ने गरी तयारी गर्न मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसाल संयोजक रहेको सात सदस्यीय समिति गठन गरेका हुन् । ‘नेपालमा कम्तीमा सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन हामी प्रयत्नरत छौं,’ उनले भने, ‘माल्दिभ्सबाट सकारात्मक थालनी गर्ने योजना छ ।’
समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तरमापन तथा नियमन महाशाखाका प्रमुख सदस्य छन् । यसैगरी नेपाल मेडिकल काउसिन्सलका रजिस्ट्रार, चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्य सचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्यसचिव रहने गरी तोकिएको छ । समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्नेछ । यसैगरी, दुवै देशका मेडिकल काउन्सिलका मापदण्ड अध्ययन गरेर द्विपक्षीय सम्झौता तथा अन्त्यमा मन्त्रालयहरूबीच औपचारिक हस्ताक्षर गर्ने वातावरण तयार गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । यससँगै अन्य सार्क राष्ट्रका चिकित्सा विद्यार्थी समेत अध्ययन गर्ने वातावरण तयार हुने उनले बताए ।